तीन माइललाई मोडल भिलेज बनाउने पहल

0
1002

दार्जीलिङ, 5 मार्चः एक गैर सरकारी संस्था युनिक अर्गनाइजेशन फर ह्युमेन अवेरनेश एण्ड वेलफेयरको पहलमा स्थानीय तीन माइल वन बस्तीलाई मोडल भिलेज बनाउने पहल शुरु भएको छ।

जसका अनुसार, यहाँका महिलाहरूलाई स्वनिर्भर बनाउन विभिन्न प्रशिक्षण प्रदान गर्ने कार्य भइरहेको छ भने स्थायी विद्यार्थी तथा अन्य नागरिकहरूका लागि एक कम्प्युटर प्रशिक्षण केन्द्रको पनि आज उद्घाटन गरियो।

यसबारे संस्थाकी सचिवा शुभ्र मुखर्जीले विस्तृत जानकारी गराउँदै भनिन्, “युनिक अर्गनाइजेशन फर ह्युमेन अवेरनेश एण्ड वेलफेयरले तीन माइलको वन बस्ती क्षेत्रलाई एक  नमूना गाउँ अर्थात् मोडल भिलेज बनाउने निर्णय लिएको थियो।’’

यसैकारण यस क्षेत्रका महिलाहरूका लागि विभिन्न सामग्री बनाउने प्रशिक्षण शुरु गरिएको उनले बताइन्। जसका अनुसार, हाल यहाँका महिलाहरूले विभिन्न सामग्री बनाउन थालेका छन्।

मुखर्जीका अनुसार उनीहरूले बनाएका यी सामग्रीहरू कलकत्ता र दार्जीलिङकै कतिपय पर्यटन स्थलहरूमा बिक्रीका लागि राख्ने व्यवस्था मिलाइँदैछ। ताकि यी महिलाहरूले बनाएका सामग्रीहरूबाट उनीहरूले केही आय-आर्जन गर्न सकुन्।

यसैले वाइल्ड लाइफ विभागसित मिलेर उनीहरूद्वारा बनाइएका सामग्रीहरूको बिक्रीको व्यवस्था पनि गर्ने योजना बनाइएको पनि उनले थप जानकारी गराइन्।

संस्थाद्वारा प्रदान गरिएको प्रशिक्षणमार्फत् विभिन्न सामग्री बनाउन सिकेकी स्थानीय ललिता थापाले यस कार्यक्रमबाट धेरै महिला र स्थानीयहरूलाई फाइदा पुगेको जनाएकी छन्। जसमध्ये उनलाई सबैभन्दा राम्रो कागजद्वारा बनाइएको पेन लागेको पनि जनाइन्।

यसका साथै यो पेन प्रयोग गरिसकेपछि यसलाई कुनै स्थानमा फ्याँक्दा यसबाट विभिन्न खाद्य पदार्थजस्तै धनिया, दाल आदि उम्रिनसक्ने पनि उनले जनाइन्।

किनभने, यो पेनको फेदको केही भागमा धनिया, दाल तथा अन्य खाद्य पदार्थको बीज हालिएको छ।

यसैले प्रयोग गरिसकेको पेन कुनै पनि स्थानमा फ्याँक्दा त्यसको कागज सड़िएपछि त्यसमा रहेको बीजले पौधा दिनेछ। जसबाट धनिया तथा अन्य खाद्यान्न उम्रिन्छ, जसलाई मानिसहरूले खानामा प्रयोग गर्न सक्नेछन्।

यसै क्रममा वाइल्ड लाइफ सिञ्चेल डिभिजनका एडीएफओ नवरूप दे-ले स्थानीय महिलाहरूद्वारा बनाइएका विभिन्न सामग्रीहरू बिक्री गर्नका लागि उचित स्थान प्रदान गर्ने वचन दिएका छन्।

यसैबीच, आज यहाँ एक कम्प्युटर प्रशिक्षण केन्द्रको पनि उद्घाटन गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here