दार्जीलिङ, 6 मार्चः पछिल्लो लोकसभा चुनाउमा भाजपाले आफ्नो सङ्कल्प –पत्रमा वाचा गरेका गोर्खाहरूका दुई मुद्दा स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यताबारे स्मरण गराउँदै विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-भाजपा नेतृत्वहरूलाई ज्ञापन चढ़ाउने कार्यक्रमलाई तीव्र बनाएको छ।
हिजो दिउँसो भाजपाका राष्ट्रिय संयुक्त सचिव शिव प्रकाशलाई भेटवार्ता गरी उल्लिखित दुवै मुद्दाको समाधानका लागि ठोस पहल गर्नुपर्ने माग विमलपन्थी मोर्चाको एकप्रतिनिधि टोलीले गरेको थियो।
यसैले टोलीले उल्लिखित दुवै मुद्दा बोकेर हिजै राति भाजपाका राष्ट्रिय महासचिव बीएल सन्तोषसँग भेटवार्ता गर्नका साथै आफ्ना मागसम्बन्ध स्मरण गराउँदै एक ज्ञापन पनि चढ़ाएको छ।
यसअवसरमा भाजपाका वरिष्ठ नेता बीएल सन्तोषले आफू भारतीय गोर्खाहरूको समस्यासँग पूर्ण अवगत रहेको र भाजपाको सङ्कल्प-पत्रमा उल्लिखित मुद्दाहरू भाजपा सरकारले पूरा गरेरै छोड़्ने वचन प्रतिनिधि टोलीलाई दिएको दाबी गरिएको छ।
टोलीमा उर्मिला रूम्बा, डा. बिनु सुन्दास, अनिल लोप्चन, विनोद खालिङ, मुकुल छेत्री र चन्दन यल्मो सामेल थिए।