त्रिपक्षीय बैठक विफलः सिङ्ला र सिङ्ताम चियाकमान अहिल्यै नखोलिने

0
1176

दार्जीलिङ, 6 मार्चः बन्द अवस्थामा रहेका सिङ्ला र सिङ्ताम चियाकमानलाई लिएर शुक्रवार सहश्रमायुक्त कार्यालय दार्जीलिङमा बसिएको त्रिपक्षीय बैठक विफल भएको छ। जसको फलस्वरूप केही दिन अघिदेखि बन्द अवस्थामा रहेका यी दुई चियाकमान अहिले नै नखोलिने भएको छ।

गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-का महासचिव एसके लामाले जानकारी गराएअनुसार आजको बैठकमा दुवै बन्द चियाकमान कमान खोल्नेबारे मालिकपक्षले ठोस निर्णय नलिएकै कारण बैठक विफल भएको हो। यसभन्दा अघि दुवै जोइन्ट फोरमले दुवैवटा चियाकमानका मालिकपक्षले कमान बिनाशर्त खोल्नुपर्ने माग गरेको थियो।

कमान मालिकपक्षले बन्द गरेको कारण बिनाशर्त चाँड़ोभन्दा चाँड़ो  मालिकपक्षले नै खोल्नुपर्ने जोइन्ट फोरमको भनाइ थियो।

उल्लेखनीय छ, सिङ्ला चियाकमान पछिल्लो 9 जनवरीका दिनदेखि बन्द छ। दीपेश लिम्बू नामका एक श्रमिकले सहप्रबन्धक ओमप्रकाश चोटियालाई हँसिया प्रहार गरेपछि नै सुरक्षाको कारण देखाउँदै मालिकपक्षले त्यसै राति  कमान बन्द गरेको थियो, जुन चियाकमान आजका दिनसम्म खोलिएको छैन। सिङ्ला चियाकमानमा करिब 600 श्रमिक/कर्मचारी छन्।

आजको बैठकमा मालिकपक्षले  प्रबन्धकपक्षको सुरक्षाको दायित्व श्रमिक सङ्गठनहरूले लिए मात्र  कमान खोल्ने शर्त राखेको तर श्रमिक सङ्गठनहरूले उक्त शर्त नमानेको बताइएको छ। यसका साथै श्रमिक सङ्गठनहरूले सिङ्ला चियाकमान खोल्नका लागि मालिकपक्षलाई एक साताको समय दिएको पनि बताइएको छ।

अर्कोतिर, करिब 850 श्रमिक/कर्मचारी रहेको सिङ्ताम चियाकमान पछिल्लो 24 फरवरीका दिनदेखि बन्द छ। एकजना प्रबन्धकसँग दुर्व्यवहार गरिएको कारण देखाएर बन्द गरिएको यस चियाकमान खोल्ने आजका दिनसम्म मालिकपक्षले सुरसार गरेको छैन।

एचपीडब्ल्यूयू महासचिव लामाका अनुसार आजको बैठकमा यस चियाकमानका मालिकपक्षको तर्फबाट कुनै निर्णय लिनसक्ने प्रतिनिधि उपस्थित नभएको कारण कुनै निचोड़ निस्केन।

जानकारीका अनुसार बैठकमा उपस्थित रिसोर्ट प्रबन्धक र सहप्रबन्धकले कमान खोल्नेबारे कुनै निर्णय लिन सकेनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here