सड़क निर्माणमा धाँधली, जनचेतना सङ्घर्ष समितिले भन्यो- भ्रष्टाचार बन्द हुनुपर्छ

0
1553

दार्जीलिङ, 6 मार्चः जीटीएअन्तर्गतका निर्माणकार्यहरूको गुणवत्ताको जाँच र निरीक्षण गर्दै हिँड़िरहेको गोरामुमो जनचेतना सङ्घर्ष समितिले जीटीएअधीनस्थ सड़क निर्माणको कार्यमा अर्को धाँधलीको आरोप लगाएको छ।

शुक्रवार समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा देवराज तामाङ, रञ्जीता सुब्बा, अमृता छेत्री, इशिका मङ्ग्राती र बसु तामाङ सम्मिलित एक टोलीले प्रधानमन्त्री ग्राम सड़क परियोजनामार्फत् 6 करोड़ 10 लाख 91 हजारमा गोराबारीदेखि  नेहुर बालासनसम्म बनिएको सड़कको निरीक्षण गरेको थियो।

यस निरीक्षणअवधि समितिले उक्त सड़कमा निर्माणमा व्यापक लापरवाही र धाँधली भएको भेटाएको दाबी गरिएको छ।

समितिका अध्यक्षका अनुसार यस सड़कको निर्माणकार्य भएको धाँधली र लापरवाही सम्बन्धमा इन्जिनियरसँग भेट गरी सटिक र गुणस्तरीय निर्माणको माग गरेको छ।

यसका साथै उनले पछिल्लो वर्ष नै निर्माणकार्य समाप्त भइसक्नु पर्ने भए तापनि आजका दिनमा बाटो निर्माणकार्य अधकल्चो भएको पनि बताएकी छन्।

“हामीले इन्जिनियरलाई सड़कमा कार्पेटिङ गर्न मेटेरिएल कति ओछ्याइन्छ भनेर सोध्दा उनले तीन इञ्च ओछ्याइने बताए। तर, यस सड़कमा एक इञ्च पनि ओछ्याइएको छैन। हामीले उनले ओछ्याइएको अलकत्रा उप्काएरै देखायौं”, मञ्जिला तामाङले भनिन्।

यसअवसरमा जीटीए सञ्चालन गरिरहेका पार्टी विस्तारका लागि ‘कट मनी’ लिने गरेकै कारण अहिलेघरी जीटीए क्षेत्रमा निर्माण भइरहेको सड़क राम्रो नबनिरहेको परोक्ष रूपमा आरोप लगाइन्।

‘माथिसम्म चुहेर तलसम्म’ आइपुग्दा कम्ती मात्रा पैसा ठेकादारसँग हातमा पर्ने गरेको गाउँ बस्तीमा जाने सड़क राम्रोसँग बन्न नसकिरहेको उनको भनाइ छ। यसका साथै उनले यस प्रकारको भ्रष्टाचार समाप्त हुनुपर्ने बताइन्।

किनभने न बाटोमा निर्माणकार्य समयभित्र पूरा भएको छ न त निर्माणकार्य नै गुणस्तरीय हुनसकेको छ। उल्टै निर्माणकार्य पूरा नभई नै अलकत्रा उप्केर ठाउँ ठाउँमा खाड़ल पर्न शुरु गरेको मञ्जिला तामाङको भनाइ छ।

यसैगरी उनले सम्बन्धित विभागले यसतर्फ समुचित ध्यान दिनुपर्ने माग गरेको छ। यसका साथै यस सड़कमा पानी बग्ने नालाको निर्माण नगरिएको पनि उनले तीखो शब्दमा आपत्ति जनाएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here