दार्जीलिङ, 7 मार्चः सोनादानिवासी साहित्यकार राजेन्द्र पासाकृत हाइकु सङ्ग्रह ‘उत्क्रोश स्वर’-को शनिवार दार्जीलिङको एक होटलमा आयोजित कार्यक्रमबीच विमोचन गरियो।
यसअवसरमा दार्जीलिङ वरिपरिका साहित्यकारहरूको उपस्थिति रहेको थियो।
साहित्यकार उदय राई ‘गोर्खा’ अध्यक्ष र वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हा प्रमुख अतिथि रहेको कार्यक्रममा उनीहरूद्वयलगायत कृतिकार राजेन्द्र पासा, साहित्यकारहरू क्रमैले अर्जुन प्रधान, रूद्रराज मास्के, मिलन बान्तवा, मणिका मुखिया, साङ्मु लेप्चा र गीता छेत्रीको बाहुलीबाट हाइकु सङ्ग्रह उत्क्रोश स्वरको विमोचन गरिएको हो।
कार्यक्रममा विमोचित कृतिमाथि साहित्यकार अर्जुन प्रधान र हाइकुमाथि प्रा. राजकुमार छेत्रीले आफ्नो विचार राखेका थिए।
यसअवसरमा नरेश कटुवाल, योगिता राई, सुमित्रा अविरल र सविता सङ्कल्पले कविता वाचन गरेका थिए।
उल्लेखनीय छ, साहित्यिक लेखन र कार्यक्रममा सधैं सक्रियता देखाउने राजेन्द्र पासाका यसभन्दा अघि नै कविताजस्तै कविताहरू (कवि सङ्ग्रह-1993), अन्तर्मनका रागहरू (मुक्तक सङ्ग्रह-2017) र आत्म अभिव्यञ्जना (तीहक सङ्ग्रह) प्रकाशित छन्।