भोपाल/नयाँदिल्ली, १० मार्चः कङ्ग्रेसलाई मध्यप्रदेशमा ठूलो झट्का लागेको छ। पछिल्लो विधानसभा चुनाउपछि असन्तुष्ट देखिएका दिग्गज कङ्ग्रेसी नेता ज्योतिरादित्य सिन्धियाले पार्टीबाट राजीनामा दिएका छन्।
सिन्धियाको राजीनामासँग मध्यप्रदेशको कङ्ग्रेस सरकार झनै धरापमा परेको छ।
यद्यपि सिन्धियाले हिजै अर्थात् ९ मार्चका दिन पार्टीबाट राजीनामा दिएका थिए। तर आज गृहमन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि उनले आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्।
मध्यप्रदेशमा राजनीतिक सङ्कटबीच आज बिहान १० बजे सिन्धियाले मोदी-शाहसँग भेटवार्ता गरे।
उनीहरू तीनैबीच धेरै लामो समयसम्म कुराकानी चलेको थियो। यद्यपि उनीहरूबीच के कुराकानी भयो, त्यो अहिले नै स्पष्ट भइहालेको छैन।
दिल्लीस्थित आफ्नो आवासबाट प्रधानमन्त्री भेट्नका लागि सिन्धिया अमित शाहकै गाड़ीमा गएका थिए भने फर्किँदा पनि शाहकै गाड़ीमा फर्किए।
यसैबीच, आज बेलुकी सिन्धिया भाजपामा सामेल हुनसक्ने अनुमान लगाइएको छ। अर्कोतिर उनले भोलि भोपाल सिटबाट राज्यसभाका लागि नामाङ्कन भर्ने सूत्रले बताएको छ।
सूत्रका अनुसार सिन्धिया कङ्ग्रेसबाट राजीनामा दिएपछि उनका १९ समर्थक मन्त्री-विधायकले पनि कङ्ग्रेसबाट राजीनामा दिने सम्भावना छ।
स्मरणरहोस्, राज्यको राजनीतिक सङ्कटबीच हिजो अबेर राति कमलनाथले क्याबिनेटको बैठक डाकेका थिए, जुन बैठकमा २८ मध्ये २० मन्त्रीले राजीनामा दिएका थिए।
आज थप ४ मन्त्रीले राजीनामा दिने सम्भावना छ। यसैगरी आज ५ बजे कमलनाथले क्याबिनेटको बैठक डाकेका छन्।
सरकारमाथि सङ्कटलाई निवारण गर्नका लागि उनले नयाँ प्रकारले क्याबिनेट विस्तार गर्ने फैसला गरेका छन्। यसैबीच भाजपाले माफियागिरी गरी सरकारलाई अस्थिर बनाउने कोशिश गरिरहेको आरोप दोहोऱ्याएका छन्।
अर्कोतिर, कङ्ग्रेस नेता एवं कङ्ग्रेसका प्रदेश अध्यक्ष सचिन पायलटले जारी सङ्कट चाँड़ै टर्ने बताएका छन्। अहिले कङ्ग्रेसमा जुन सङ्कट देखिएको छ, त्यो आन्तरिक कलह र मतभेदका कारण भएको उनले स्वीकारेका छन्।