मल्लीमा गोलीप्रहार हुँदा दुई घाइते, आरोपी कुणाल प्रधानलाई पक्राउ गर्नुपर्ने मागमा हाइवेमा चक्काजाम

0
1027

कालेबुङ, १० मार्चः कालेबुङ नगरपालिकाको वार्ड नम्बर १ का नगरपार्षद् कुणाल प्रधान र उनका समर्थकहरूले मल्ली बजारमा अन्धाधुन्ध गोली प्रहार गरी स्थानीय दुईजना व्यक्तिलाई घाइते बनाएको आरोप उठेको छ।

यो घटनापछि आज साँझसम्म मल्ली बजारमा व्यापक तनाउ सिर्जना भएको छ।

कालेबुङ थानाका आईसी अनिन्दो भट्टाचार्यले बताएअनुसार आरोपी कुणाल प्रधान र उनका समर्थकहरू घटनापछि भागेका छन्। आईसीका अनुसार यो घटना आज करिब ४ बजे भएको हो।

जानकारीका अनुसार उक्त फाइरिङमा स्थानीय पुरण मगर र पेम्पा तामाङ घाइते भएका छन्।

जानकारीका अनुसार घाइते पेम्पा तामाङ कालेबुङ अस्पतालमा उपचाराधीन छन् भने अर्का घाइते पुरण मगरलाई ­­सिलगढ़ी रेफर गरिएको छ।

अर्कोतिर, यो घटनापछि आक्रोशित बनेका हाइवेवासीले राष्ट्रिय राजमार्ग १० लाई अचल बनाएका छन्। यसका साथै कुणाल प्रधान र उनका समर्थकहरूलाई पुलिसले चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कठोर सजाय दिनुपर्ने मागसमेत गरेका छन्।

यसैबीच, कुणाल प्रधानका केही समर्थकलाई हिरासतमा लिएर केरकार गरिरहेको पनि कालेबुङ थानाका आईसी अनिन्दो भट्टाचार्यले जानकारी गराएका छन्।

‘‘कुणाल प्रधानका केही समर्थकलाई हिरासतमा लिएर हामीले केरकार गरिरहेका छौं। हामीले कुणाल प्रधानलाई पक्राउ गर्नका लागि खोजी गरिरहेका छौं’’, आईसी भट्टाचार्यले भने।

स्थानीय सूत्रका अनुसार रेलवेको कार्यलाई लिएर स्थानीय मानिसहरूसँग प्रधानको विवाद भएपछि प्रधान र उनका समर्थकहरूले अन्धाधुन्ध गोली चलाएको आरोप छ।

वास्तवमा रेलवेको ठेकादारी कामलाई लिएर कुणाल प्रधानको हस्तक्षेपलाई अस्वीकार गर्दा नै गाउँलेहरूमाथि उनी र उनका समर्थकहरू जाइलागेको स्थानीय मानिसहरूको भनाइ छ।

उल्लेखनीय छ, पछिल्लो महिनामा पनि कुणाल प्रधान र उनका समर्थकहरूले टिस्टा बजारमा झगड़ा गरेका थिए। त्यस झगड़ाको कारण पनि हाइवेअधीनस्थ ठेकादारीको कार्य रहेको बताइएको छ। त्यसपछि लगत्तै उनलाई गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफ्नो पार्टीबाट तीन महिनाका लागि निष्कासित गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here