कालेबुङ, 11 मार्चः मङ्गलवार मल्ली बजारमा गोली चलाएर स्थानीय दुई व्यक्तिलाई घाइते बनाउने आरोपी कुणाल प्रधान र उनका सहयोगीहरूलाई आफ्नो पार्टीबाट आजीवनका लागि निष्कासित गरिएको गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले बताएका छन्।
गोलीकाण्डपछि तुरुन्तै भिडियो जारी गरी विनयले कुणाल प्रधान र उनका साथीहरूलाई पार्टीबाट आजीवनका लागि निष्कासित गरिएको जानकारी गराएका हुन्।
पार्टी महासचिव अनित थापासँग आपत्कालीन बैठक गरेपछि मल्ली गोलीकाण्डका आरोपीहरूलाई निष्कासित गर्ने घोषणा गरिएको उनको भनाइ छ।
यसका साथै कुणाल प्रधानलाई गैरकानुनी रूपमा हतियार बोकेको तथा स्थानीय मानिसहरूमाथि अन्धाधुन्ध गोलीप्रहार गरेकोमा तत्काल पक्राउ गरी आर्म्स एक्टअन्तर्गत् कारबाही गर्नुपर्ने माग पनि तामाङले गरेका छन्।
विनयका अनुसार यसबारे उनले आईजी दार्जीलिङ र एसपी कालेबुङसँग पनि कुराकानी गरिसकेका छन्।
“मैले आईजी दार्जीलिङ र कालेबुङ एसपीलाई कुणाल प्रधान र उनका साथीहरूलाई तत्काल पक्राउ गर्नुपर्छ भनेको छु”, उनले थपे, “गैरकानुनी हतियार बोकेकोमा आर्म्स एक्ट लगाएर यसै कानूनअन्तर्गत कारबाही गरेको हुनुपर्छ।”
यसैगरी गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफ्नो पार्टीले शुरुदेखि दार्जीलिङ पहाड़मा शान्तिमय वातावरण चाहेको बताउँदै गोलीकाण्डको यस घटनाप्रति तीखो शब्दमा भर्त्सना जनाउनका साथै आरोपीहरूलाई कठोरभन्दा कठोर सजाय दिनुपर्ने माग गरेका छन्। उल्लेखनीय छ, कालेबुङ वार्ड नम्बर 1-का नगरपार्षद्समेत रहेका कुणाल र प्रधानले पछिल्लो महिना विनय तामाङकै अघि टिस्टा बजारमा झगड़ा गरेका थिए। त्यससमय तत्कालै कारबाही गर्दै पार्टी अध्यक्ष विनय कुणाल प्रधानलाई तीन महिनाका लागि पार्टीबाट निष्कासित गरेका थिए।