दार्जीलिङ, 11 मार्चः मङ्गलवार अपराह्न राष्ट्रिय राजमार्ग 10 स्थित मल्ली बजारमा भएको गोलीकाण्डलाई सांसद राजु विष्टले ‘पहाड़मा तृणमूल कङ्ग्रेस समर्थित भ्रष्टाचारको अभिव्यक्ति’-को संज्ञा दिएका छन्।
यस गोलीकाण्डको तीखो शब्दमा भर्त्सना गरेका विष्टले क्षेत्रका सबै परियोजनाबाट तृणमूल कङ्ग्रेस पहाड़का नेता र उनीहरूका समर्थकहरूले ठूलो परिणाममा कर असुली गरिरहेका आरोप पनि लगाएका छन्।
यसैगरी, हिजोको गोलीकाण्लाई सेवक-रम्फू रेल लाइन परियोजनामाथि स्थानीय मानिसहरूको असन्तुष्टलाई दबाउनका लागि नै हत्याको प्रयास गरिएको विष्टले विज्ञप्तिमा थप बताएका छन्।
यसका साथै यस गोलीकाण्डबारे गृहमन्त्री र रेलमन्त्रीलाई सूचित गर्ने बताएका छन्। किनभने सिक्किमलाई भारतका अन्य प्रान्तसँग जोड़्ने एक महत्त्वपूर्ण र संवेदनशील राजमार्गमा गोली चलाइएको छ।
“संवेदनशील चिकननेक क्षेत्रमा यस्तो हतियार प्रदर्शन राष्ट्रिय सुरक्षाका लागि राम्रो होइन”, उनले भनेका छन्।
अर्कोतिर, विष्टले मल्ली गोलीकाण्डको घटनालाई लिएर राज्यको शासक दल तृणमूल कङ्ग्रेस र पहाड़को तृणमूल समर्थित नेतृत्वहरूलाई जिम्मेवार ठहर्याएका छन्।
यसैगरी, उनले 2017 पछि पहाड़का सबै लोकतान्त्रिक मापदण्ड र संस्थानलाई उखेलेर फ्याँक्नका लागि आफ्नो तृणमूल कङ्ग्रेसले आफ्नो सबैप्रकारको शक्तिको प्रयोग गरेको बताएका छन्।
विष्टको आरोपका अनुसार आज पहाड़का मानिसहरू अत्याचारी र निरङ्कुश शासनमा बाँच्नका लागि बाध्य बनेका छन्। उनका अनुसार यो अत्याचार र निरङ्कुश शासनलाई पहाड़मा जबर्जस्ती असुली, धम्की, पक्राउ र यातनाले परिभाषित गरिरहेको छ।
“तृणमूल कङ्ग्रेस सरकारको संरक्षणमा दार्जीलिङ र कालेबुङमा असामाजिक तत्त्वहरू बढ़िरहेका छन्, जसले आम मानिसहरूलाई मौन बस्न बाध्य बनाएको छ। तृणमूल कङ्ग्रेसले नै यस्ता असामाजिक तत्त्वहरूलाई बढ़ावा दिइरहेको छ”, विष्टले विज्ञप्तिमा भनेका छन्, “एकातिर 5000 भन्दा अधिक युवा आफ्नो घरबाट बाहिर बस्न बाध्य बनाइएको छ भने अर्कोतिर तृणमूल कङ्ग्रेसकै सुरक्षा र प्रोत्साहनमा असामाजिक तत्त्वहरू खुल्ला रूपमा हिँड़िरहेका छन्, जसबाट आम नागरिक र व्यापारीहरू भयभीत छन्।”
यसका साथै उनले मल्ली गोलीकाण्डका सबै आरोपीलाई कानूनअन्तर्गत कारबाही गर्नुपर्ने कालेबुङका पुलिस अधीक्षकसँग अनुरोध गरेको र पुलिस अधीक्षकले पनि आरोपीहरूमाथि कठोर कारबाही गर्ने आश्वासन दिएको बताएका छन्।
विष्टले घाइतेद्वय पुरण मगर र पेम्पा तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्नका साथै स्थानीय मानिसहरूसँग शान्ति कायम कायम गरिदिने अपील पनि गरेका छन्।