रेलवेको निर्माणकार्यमा रोक, 24 घण्टाभित्र आरोपीहरूलाई पक्राउ नगरे हाइवे ठप्प बनाउने

0
1137

कालेबुङ, 11 मार्चः मङ्गलवार अपराह्न मल्ली बजारमा  स्थानीय मानिसहरूमाथि गोली प्रहार गर्ने आरोपी कुणाल प्रधान  र उनका समर्थकहरूलाई पक्राउ गर्नका लागि गाउँलेहरूले पुलिसलाई 24 घण्टाको समय दिएका छन्।

यसका साथै उनीहरूले आजदेखि सेवक-रम्फू रेल परियोजनाको चरण 1 र 2 का सम्पूर्ण कार्यलाई ठप्प बनाएका छन्।

जबसम्म आरोपी कुणाल प्रधान र उनका समर्थकहरूलाई पुलिसले पक्राउ गर्दैन, तबसम्मका लागि दुवै चरणका सबै कार्यलाई ठप्प बनाउने स्थानीय मानिसहरूको भनाइ छ।

यसैगरी गाउँलेहरूले आज आफ्नो मागमा  मल्ली थाना पनि केही समय घेराउ गरे। घेराउपछि उनीहरूले पुलिस प्रशासनलाई एक ज्ञापन चढ़ाएर आरोपीहरूलाई पक्राउ गर्नका लागि 24 घण्टाको समय दिएका छन्।

यदि 24 घण्टाको समयभित्र कुणाल प्रधान र उनका समर्थकहरूलाई पक्राउ नगरिएको खण्डमा सड़कमा ओर्लिएर राष्ट्रिय राजमार्ग 10-लाई अचल बनाउने चेताउनी दिएका छन्।

हिजोको गोलीकाण्डपछि हाइवेवासी अत्यन्त आक्रोशित बनेका छन्। रेलवे परियोजनाका लागि अनापत्ति-पत्र (एनओसी) र कमिशनकै कुरामा नगरपार्षद् कुणाल प्रधान र उनका समर्थकहरूले स्थानीय मानिसहरूमाथि गोली चलाएको उनीहरूको भनाइ छ।

किनभने एनओसी र कमिशनका कुराहरूमा कुणाल प्रधानले स्थानीय मानिसहरूलाई घरी घरी धम्की दिने गरेको स्थानीयहरूको आरोप छ। उनीहरूका अनुसार ससाना कामदेखि ठूला काममा कुणाल प्रधानले हस्तक्षेप गर्नेगर्छन्। रेलवेका हरेक कार्यमा आदेश चलाउने गर्छन्। प्रत्येक कामबाट कुणाल प्रधानले कमिशन खाने गर्छन्।

यसैबीच, हिजोको गोलीकाण्डपछि रेलवे विभाग र निर्माणकार्य गरिरहेको इर्कोन कम्पनीको भूमिकामाथि पनि गाउँलेहरूले प्रश्न उठाएका छन्।

उसै पनि ग्रामसभा एनओसी नदिए तापनि रेलवेको निर्माणकार्य भने धमाधम भइरहेको छ, जुन आफैमा गैरकानुनी हो।

त्यैमाथि कम्पनी र विभागले कुणाल प्रधानको गैरकानुनी कार्यलाई परोक्ष सहयोग गरेकै कारण यस्तो घटना भएको गाउँलेहरूको आरोप छ।

“वनाधिकार कानून 2006 मिचेर जबर्जस्ती परियोजनाको कार्य गरिरहेको र स्थानीय मानिसहरूले त्यसमाथि प्रतिवाद जनाउँदा आरोपी कुणाल प्रधानजस्ता असामाजिक तत्त्वहरूले घरी घरी धम्की दिने, डर देखाउने कार्य गरिरहेका थिए। हिजो पनि एनओसी र कमिशनका लागि स्थानीय मानिसहरूलाई धम्काउने  र डर देखाउने कार्य गर्दा गोलीकाण्ड भएको हो”, गाउँलेहरूको आरोप छ।

उल्लेखनीय छ, हिजो अपराह्न  करिब 4 बजे कालेबुङ नगरपालिका वार्ड नम्बर 1-का नगरपार्षद् र उनका समर्थकहरूले स्थानीय मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेको आरोप छ।

यस गोली प्रहारमा पुरण मगर (42) र पेम्पा तामाङ (26) घाइते भएका छन्। पेम्पा तामाङ कालेबुङ जिल्ला अस्पतालमा तथा पुरण मगर सिलगढ़ीस्थित एक नर्सिङ होममा  उपचाराधीन छन्।

जानकारीका अनुसार पेम्पा तामाङको खुट्टामा र पुरण मगरको भुँड़ीमा गोली लागेको छ। यो घटनापछि हिजैदेखि मल्लीलगायत हाइवे क्षेत्रमा तनाउ सिर्जना भएको छ। यस क्षेत्रको  वातावरण आज पनि तनाउपूर्ण रह्यो।

यस गोलीकाण्डले आक्रोशित बनेका मानिसहरूले हिजो केही घण्टा राष्ट्रिय राजमार्ग  10 अवरोध गरी आरोपी कुणाल प्रधान र उनका समर्थकहरूलाई यथाशीघ्र पक्राउ गरी कठोरभन्दा कठोर माग गरेका थिए, जुन मागलाई क्षेत्रवासीले आज पनि दोहोऱ्याएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here