दार्जीलिङ, 11 मार्चः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको एक टोली राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) विषय लिएर असम गएको छ।
टोलीमा केन्द्रिय समिति सहसचिव केशवराज पोख्रेल, केन्द्रिय समिति सदस्य साकल देवान र मोर्चा रिसर्च एवं स्टडी विङका सदस्य पङ्कज छेत्री सामेल छन्।
यसबारे टोलीका सदस्य पङ्कज छेत्रीले एक विज्ञप्तिमार्फत् जानकारी गराएअनुसार उनीहरूले हाल असममा त्यहाँको जमिनी सत्यता र तथ्य बुझ्नका लागि विभिन्न सङ्घ-संस्था र व्यक्ति विशेषहरूसँग भेट गरिरहेका छन्।
यसै क्रममा टोलीले हिजो असमका पूर्व मुख्यमन्त्री एवं कङ्ग्रेसका वरिष्ठ नेता तरुण गोगोइसँग उनका घरमा औपचारिक भेटवार्ता गरेको पनि छेत्रीले जानकारी गराएका छन्।
उनका अनुसार भेटवार्ताअवधि गोगोइले आफू 15 वर्ष असमको सत्तामा रहँदा गोर्खाहरूलाई सम्मान राखेको बताउँदा त्यसताक विधानसभाका अध्यक्ष पहिलोपटक गोखा वरिष्ठ अधिवक्ता एवं प्राध्यापक टङ्कबहादुर राईलाई बनाएको तथा उनले आफ्नो सरकारकालमा क्याबिनेट मन्त्रीजस्तो जिम्मेवारी पदमा पनि गोर्खा सदस्यहरूलाई बराबर मौका दिएको बताएको छेत्रीले थप जानकारी गराएका छन्।
यस भेटवार्ताअवधि पूर्व मुख्यमन्त्रीले एनआरसीले ल्याएको सङ्कटमा खेद प्रकट गर्नका साथै आफ्नो कार्यकालमा बोडोल्याण्ड सम्झौता गरी बोडोहरूलाई मूलधारामा ल्याई उनीहरूको विकास साथै राजनीतिक सशक्तिकरण आधार तयार पारेको दाबी समेत गरेको छेत्रीले विज्ञप्तिमा बताएका छन्।
उल्लेखनीय छ, एनआरसी सम्बन्धमा विनयपन्थी मोर्चाको यो दोस्रो असम भ्रमण हो।
यसभन्दा अघि पार्टी अध्यक्ष विनय तामाङकै अगुवाइमा एक टोलीले एनआरसीबाट प्रभावित गोर्खाहरूको अवस्था र समस्या बुझ्नका लागि असम भ्रमण गरेको थियो।