कोरोना भाइरसबारे दार्जीलिङ उच्चस्तरीय बैठक

0
1287

दार्जीलिङ, 11 मार्चः अहिलेसम्म गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) या दार्जीलिङ पहाड़ी क्षेत्रमा कोरोना भाइरसको कुनै सङ्केत पाइएको छैन। आज जीटीए प्रशासनले यसको पुष्टि गरेको छ।

तरै पनि यो भाइरसबाट यहाँका सर्वसाधारण जनतालाई बचाउनका लागि भोलिदेखि भारत-नेपाल सीमा क्षेत्र मानेभञ्ज्याङ र सिलगढ़ीबाट दार्जीलिङ पस्ने मूलद्वार सिमलबारीमा स्क्रिनिङ राख्ने तय निर्णय गरिएको जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तले जानकारी गराए।

आज जीटीएको मुख्यालय लालकोठीमा दुई चरणमा भएको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गुप्तले अहिलेसम्म जीटीए क्षेत्रमा एउटै पनि कोरोना भाइरसको सङ्केत नपाइएको जानकारी गराएका हुन्।

आज लालकोठीमा प्रथमतः जीटीए, दार्जीलिङ-कालेबुङ जिल्ला प्रशासन, पुलिस तथा दोस्रो चरणमा दार्जीलिङका गाड़ी चालक, होटल मालिकवर्ग साथै गैर सरकारी संस्थाहरूसित बैठक भएको थियो।

यस बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गुप्तले भोलिदेखि नै विशेष गाड़ी चालकहरूलाई 15 हजार मास्क वितरण गरिने बताए।

यसका साथै होटल र होमस्टेहरूलाई सेल्फ रिपोर्टिङ फर्म वितरण गर्ने योजना बनाइएको पनि उनले जनाए।

जीटीएले बताएअनुसार, पछिल्लो 25 जनवरी 2020-को दिन नेपालमा कोरोना भाइरसको लक्षण पाइएको सूचना प्राप्त भएपछि नै स्वास्थ्य भवन कलकत्ताबाट खण्ड स्वास्थ्य अधिकारीहरू तथा निरीक्षकहरूलाई जिल्लाका सम्बन्धित समस्याहरूसित सामना गर्नलाई विशेष टोली तयार गर्ने निर्देश दिइएको थियो।

 जसका अनुसार, नेपाल-भारत सीमा क्षेत्रमा पर्ने सुकेपोखरी खण्डको पशुपति फाटक अनि मिरिक खण्डको ओकाइटीमा 26 फरवरीदेखि निरीक्षण शिविर चलिरहेको छ।

स्वास्थ्य भवन र जिल्ला स्वास्थ्य टोलीका डा. विकास मण्डलले तीनवटा सीमाका नाका क्षेत्रहरूको भ्रमण पनि गरिसकेका छन्। सीमा क्षेत्रमा एसएसबीसँग यस समस्याबारे बैठक पनि भइसकेको छ।

यसरी नै बाघडुग्रा हवाईअड्डामा भूटान र ब्याङ्ककबाट आएका यात्रीहरूको निरीक्षण 29 जनवरीदेखि नै चलिरहेको छ। अहिलेसम्म बाघडुग्रा हवाईअड्डामा जम्मा 281 यात्रीहरूको निरीक्षण गरिएको थियो, जसमा कोरोना भाइरसको सन्दिग्ध मामिलाको रिपोर्ट आएको छैन।

जिल्लाका मोठ 37 वटा गाउँहरू क्रमैले खोरीबारी, नक्सलबारी, सुकेपोखरी नेपाल सीमा नजिक छ। जानकारीका अनुसार ती गाउँहरूमा कोरोना भाइरसबारे मानिसहरूलाई सचेत गराउने कार्य भइरहेको छ।

गत 4 फरवरीसम्म ती क्षेत्रका मोठ 224 गाउँमा बैठक 5,107 व्यक्तिहरूको निरीक्षण भइसकेको थियो, तर निरीक्षण अवधि कसैमा पनि कोरोना भाइरसको लक्षण नपाइएको बताइएको छ।

उत्तर बङ्गाल मेडिकल कलेजमा विशेष सुविधासहितको अलगै वार्डले कोरोना भाइरससँग लड्न तयारी गरिसकेको छ। दार्जीलिङ र खरसाङका विभिन्न विद्यालयका प्रमुखहरूसँग बैठक भइसकेको छ।

सम्बन्धित विभागले कोरोना भाइरसको खतरा र आतङ्कलाई लिएर सतर्कता अपनाउन आजसम्म कुनै कसर बाँकी राखेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here