दार्जीलिङ, 12 मार्चः कोरोना भाइरसलाई लिएर प्रशासनिक निष्क्रियतामाथि गोरामुमो जनचेतना सङ्घर्ष समितिले प्रश्न तेर्साएको छ।
समितिका अनुसार विश्वव्यापी आतङ्क मच्चाइरहेको यस भाइरसको प्रकोपबाट दार्जीलिङ पहाड़लाई सुरक्षित राख्नका लागि प्रशासिक रूपमा अहिलेसम्म कुनै प्रकारको समुचित पहल भएको छैन।
पत्रकारहरूलाई सम्बोधन गर्दै समितिकी अध्यक्ष मञ्जिला तामाङले छिमेकी राज्य सिक्किममा कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि विदेशी पर्यटकहरूमाथि रोक लगाउने कार्य गरिए तापनि दार्जीलिङमा आजका दिनसम्म यस्तो कुनै प्रकारको पहल नगरिएको बताए।
“छिमेकी सिक्किम स्वास्थ्यलाई यति धेरै सचेत छ। तर के दार्जीलिङ चाहिँ सचेत छैन?”, उनले थपिन्, “दार्जीलिङ यति धेरै घुइँचो, साँघुरो छ। यदि एकैजना कोरोना भाइरस लागेका मानिस पनि दार्जीलिङ प्रवेश गरेको खण्डमा दार्जीलिङ सम्पूर्ण रूपमा खत्तम हुनेछ। किनभने दार्जीलिङ घुइँचो ज्यादा। साँघुरो छ। मैला छ।”
यसैगरी उनले दार्जीलिङ आउने पर्यटकहरूका लागि जाँच गर्न ठाउँ ठाउँमा स्क्रिनिङ सेन्टर स्थापित गर्नुपर्ने माग गरेकी छन्। यसैबीच, उनले पैसालाई भन्दा स्वास्थ्यलाई बढ़ी प्राथमिकता दिनुपर्ने बताएकी छन्।
यसका साथै तामाङले कोरोना भाइरसको प्रकोपबाट दार्जीलिङ पहाड़लाई सुरक्षित राख्नका लागि प्रशासनिक रूपमा यथाशीघ्र समुचित पहल गर्नुपर्ने माग गरेकी छन् भने मास्क र ह्याण्ड सेनिटाइजरको मूल्य नबढ़ाउने दवाई दोकानहरूलाई सुझाएकी छन्।
अर्कोतिर, आज यसै विषयलाई लिएर समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा एक टोलीले सीएमओएच दार्जीलिङलाई एक ज्ञापन चढ़ाएको छ।
ज्ञापनको प्रतिलिपि जिल्लापाल दार्जीलिङ, जीटीएका मुख्य सचिव, अतिरिक्त जिल्लापाल दार्जीलिङ, र दार्जीलिङका पुलिस अक्षीधकलाई बुझाइएको छ।
यसका साथै जनचेतना सङ्घर्ष समितिले आज दार्जीलिङ अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामीलाई राख्नका लागि स्थापित आइसोलेशन वार्डको पनि निरीक्षण गर्यो।