दार्जीलिङ, 12 मार्चः होटल विण्डामेयरका एकजना चौकीदार कोरोना भाइरस सङ्क्रमित भएर युमा नर्सिङ होममा उपचाराधीन छन् भन्ने कुरा केवल अफवाह हो। यसमा कुनै सत्यता छैन।
यसका साथै यस्ता अफवाह फैलाउनेहरूविरुद्ध पुलिसले उचित कार्वाही गर्ने चेताउनी दिएको छ।
आज बिहानदेखि प्रत्येकको मोबाइलमा वाट्सएपमार्फत् होटल विण्डामेयरका एकजना चौकीदार कोरोना भाइरसको चपेटमा परी युमा नर्सिङ होममा उपचारको लागि भर्ती भएको खबर आइरहेको थियो।
जसले चारैतिर आतङ्क फैलिन थालेको थियो। जसको कारण दार्जीलिङ सदर पुलिसले पनि यहाँ माइकिङ गरी यो खबर पूर्णरूपले झूटो हो भन्न परेको थियो भने यस खबरलाई स्वयं होटल विण्डामेयर, युमा नर्सिङ होमले पनि खारेज गरेका छन्।
यति मात्रै होइन, होटल प्रशासन र युमा नर्सिङ होमले यस्तो अफवाह फैलाइएको विरोधमा पुलिस प्रशासनसमक्ष उजुरी पनि दर्ता गरेका छन्।
यसबारे होटलका महा-प्रबन्धक (ओपरेशन) अनित गुप्तले जनाएअनुसार, आज बिहानदेखि नै होटल विण्डामेयरका एक चौकीदार कोरोना भाइरसको चपेटमा परी युमा नर्सिङ होममा भर्ती भएको खबर वाट्सएपमार्फत् भाइरल भइरहेको छ, जुन पूर्णरूपले झूटो हो। कोरोना भाइरसले आजसम्म दार्जीलिङ पहाड़का एकैजना मानिस पनि प्रभावित बनेको छैन भन्ने जानकारी पाइएको छ।
यसैले यसप्रकारको अफवाह र झूटो खबरमाथि कसैले पनि विश्वास गर्नु नहुने उनले बताएका छन्।
एक प्रश्नको उत्तरमा गुप्तले भने, “यस होटलका प्रत्येक कर्मचारीको स्वास्थ्य जाँच भइरहन्छ। आजको समय यस होटलका एकैजना कर्मचारी पनि बिरामी छैनन्। यसैले यस होटलका एकजना चौकीदार कोरोना भाइरसको चपेटमा आएको झूटो खबर फैलाउनेविरुद्ध होटलले पुलिससमक्ष एक उजुरी दर्ता गरेको छ।”
उल्लेखनीय छ, हिजो मात्र गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-द्वारा आयोजन गरिएको बैठकपछि दार्जीलिङका पुलिस अधीक्षक अमरनाथ के-ले कोरोना भाइरस विषयमा अफवाह फैलाउनेहरूविरुद्ध उचित कारबाही गर्ने चेताउनी दिएका थिए।
तर, उनले यस्तो चेताउनी दिएको 24 घण्टा पनि नबित्दै यसप्रकारको अफवाह अघि आएको छ। जसको कारण दार्जीलिङ पुलिसले शहरमा माइकिङसम्म गर्न बाध्य बनेको छ।
दार्जीलिङ पुलिसले माइकद्वारा आजसम्म दार्जीलिङका कुनै पनि सरकारी वा निजी अस्पतालमा एकैजना पनि कोरोना भाइरस सङ्क्रमित बिरामी नरहेको बताइरहेको थियो।
यसैगरी यस विषयमा युमा नर्सिङ होम पनि स्पष्टीकरणका लागि अघि आउन बाध्य बनेको थियो।
युमा नर्सिङ होमका प्रभारी डा. दावा भोटियाले भने, “युमा नर्सिङमा होममा आजसम्म एकैजना पनि कोरोना भाइरस सङ्क्रमित मानिस भर्ती भएका छैनन्। दार्जीलिङ पहाड़ मात्रै होइन, आजसम्म उत्तर बङ्गाल भरि नै कोरोना भाइरसको सङ्केत पाइएको कुनै खबर छैन।”
उनका अनुसार तर आज युमा नर्सिङ होममा कोरोना भाइरस सङ्क्रमित मानिस भर्ती भएको खबर प्राप्त भएपछि यसविरुद्ध दार्जीलिङ सदर पुलिस थानामा एक उजुरी दर्ता गरिएको छ।
“आज बिहान एकजना महिलाको स्वरमा यो खबर भाइरल भएको थियो। कुनै खोज खबर नलिई अर्काले भनेको कुरालाई अझै बढ़ाएर अफवाह फैलाउनु कदापि उचित होइन’, डा. भोटियाले थपे, “हिजो जीटीएद्वारा आयोजन गरिएको बैठकमा यसप्रकारले अफवाह फैलाउनेहरूविरुद्ध कारबाही गर्ने कुरा भएको थियो। यसैले जनतालाई आतङ्कित बनाउने कार्य कसैले नगरेको उचित हुनेछ।”
यसैबीच, आज दार्जीलिङ पुलिस र हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीको संयुक्त पहलमा गाड़ी चालकहरूलाई एक हजारवटा मास्क वितरण गरियो।