विष्टले संसदमा उठाए मल्ली गोलीकाण्ड, वनाधिकार कानून लागू नभएसम्म रेलवेको निर्माणकार्य रोक्नुपर्ने माग

0
1288

कालेबुङ, 12 मार्चः सांसद राजु विष्टले संसदमा मल्ली गोलीकाण्डको मुद्दालाई उठाउँदै वनाधिकार कानून 2006 लागू नभएसम्म  सेवक-रम्फू रेल परियोजनाको निर्माणकार्यलाई रोक्नुपर्ने माग गरेका छन्।

उनले सेवक-रम्फू रेल परियोजना देशकै एक अद्भूत रेलवे परियोजना रहेको बताउँदै यो परियोजनालाई स्वागत त जनाए। तर, वनाधिकार कानून 2006 दार्जीलिङ र कालेबुङ जिल्लामा लागू नगरेसम्म यसको निर्माणकार्यमाथि रोक लगाउनुपर्ने माग गरे।

सदनमा उनले वनाधिकार कानून 2006 देश र बङ्गालका अन्य भागहरूमा लागू भए तापनि दार्जीलिङ र कालेबुङ जिल्लामा यो कानून आजका दिनसम्म लागू गरिएकै कारण सेवक-रम्फू रेल परियोजनाबाट प्रभावित 24 बनबस्तीका मानिसहरूले क्षतिपूर्ति र पुनर्वास सुविधा नपाइरहेको पनि अवगत गराए।

अर्कोतिर, विष्टले मल्ली बजारमा पछिल्लो 10 मार्चका दिन भएको गोलीकाण्डको मुद्दा उठाउँदै रेलवेको विकासकार्यबाट ठेकादारी उठाउनका लागि तृणमूल कङ्ग्रेस र जीटीए चलाइरहेको विनयपन्थी गोजमुमोबीच दिनहुँ परस्परमा भिड़न्त भइरहेकै कारण आम मानिसहरूलाई क्षति पुगिरहेको पनि बताए।

मल्ली गोलीकाण्डमा पुरण तामाङ र पेम्पा तामाङ गरी दुईजना स्थानीय मानिस घाइते भएको पनि विष्टले सदनलाई जानकारी गराएका छन्।

यसैले वनाधिकार कानून लागू नभएसम्म यस रेलवे परियोजनाको निर्माणकार्य रोक्नुपर्ने रेल मन्त्रीसँग उनले अनुरोध गरे।

“म विकास होस् भन्ने चाहन्छु। तर, मेरा मानिसहरूको छातीमा गोली ठोकेर कुनै विकास कार्य गरियोस् भन्ने म चाहन्नँ”, सांसद राजु विष्टले सदनमा भने। यसका साथै उनले रेल मन्त्रीसँग आफ्नो यस मागप्रति विशेष ध्यान दिने माग गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here