दार्जीलिङ, 13 मार्चः पछिल्ला केही दिनयता विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाको एक प्रतिनिधि टोलीले लगातार केन्द्रिय मन्त्री र सांसदहरूसँग भेटवार्ता गरी भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो सङ्कल्प-पत्रमा गोर्खाहरूका लागि गरेको वाचा पूरा गर्नुपर्ने माग गर्दै आइरहेको छ।
यसै क्रममा आज सांसद राजु विष्टको नेतृत्वमा विमलपन्थी मोर्चाको प्रतिनिधि टोलीले केन्द्रिय गृह राज्यमन्त्री जी, किशन रेड्डीसँग भेट गर्यो।
सांसद विष्टलगायत विमल गुरुङपन्थी मोर्चाका कार्यकारी अध्यक्ष डा. लोप्साङ लामा, केन्द्रिय सदस्य डा. बिनु सुन्दास, लीलाकुमार गुरुङ र अनिल लोप्चन सम्मिलित टोलीले गृह राज्यमन्त्री रेड्डीलाई भाजपाले सङ्कल्प-पत्रमा प्रतिबद्ध जताएका गोर्खाहरूका दुई मुद्दा स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीलाई जनजातिको मान्यता विषयलाई सरकारले चाँड़ोभन्दा चाँड़ो सम्बोधन गरिनुपर्ने मागमा एक ज्ञापन पनि चढ़ाएको छ।
भेटवार्ताअवधि केन्द्रिय मन्त्री जी. किशन. रेड्डीले यस विषयमा आजै गृहमन्त्री अमित शाहसँग वार्तालाप गरी चाँड़ै समाधानका लागि पहल गर्ने टोलीलाई आश्वासन दिएको बताइएको छ। यसका साथै मन्त्रीले केन्द्र सरकार गोर्खाहरूका साथमा रहेको कुराबारे टोलीलाई विश्वस्त गराएको बताइएको छ।
अर्कोतिर, विमलपन्थी मोर्चाको यस टोलीले लोकसभा अध्यक्ष ओम बिड़्ला र सांसदद्वय राजीव प्रताप रुढ़ी र हेमा मालिनीसँग भेट गरी गोर्खाहरूको दीर्घकालीन समस्याबारे अवगत गराई समाधानका लागि गुहार लगाएको थियो।