दार्जीलिङ , 14 मार्चः पछिल्लो 12 मार्चका दिन साहित्यकार स्व आरपी लामाको जयन्तीको अवसरमा उनकै कान्छी छोरी प्रणिता लामाले आफ्नो घरमा आरपी लामा पुस्तकालयको स्थापना गरेकी छन्।
त्यसदिन विधिवत रूपमा पूजा अर्चना गरी यस पुस्तकालयको उद्घाटन गरिएको थियो। यसअवसरमा प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार कर्ण थामी उपस्थित थिए।
ह्याप्पीभेल्ली चियाकमानको पम्पावती गुरुङनी रोडस्थित घर विन्डसोर लजमा उनले आफ्ना पिताको नामको पुस्तकालय स्थापना गरेकी हुन्। अर्थात् कान्छी छोरी प्रणिता लामाले आफ्ना पिताले करिब १९-२० वर्षअघि देखेको सपनालाई पूरा गरेकी छन्।
‘पुस्तकालय स्थापना गर्ने मेरा पिताको सपना थियो। उनले यसका लागि धेरै पुस्तकहरू सङ्ग्रह गरी सञ्चालन पनि गरिसकेका थिए। तर उनको निधनले त्यो सपना अधुरै रहेको थियो, जुन सपनालाई पूरा गर्ने मैले कोशिश गरेकी हुँ’, जनसंवादसँग कुराकानी गर्दै उनले भनिन्।
पुस्तक सङ्ग्रह र ती पुस्तकहरू संरक्षण कार्य कठिन कार्य हो, जुन चुनौतीलाई उनले स्वीकारेकी छन्। यसका लागि उनलाई केही सहृदयी मानिसहरूले सहयोग गरेका छन्, जसलाई जाँगरिली प्रणिता लामाले ऊर्जाको रूपमा लिएकी छन्।
‘आफ्नै घरमा ठूलो पुस्तकालय स्थापना गर्ने मेरो सोच हो, जुन सपना मेरो पिताले धेरै वर्ष अघि देखेका थिए’, उनले थपिन्, ‘मेरो यो कार्यलाई सबै सहयोग पुऱ्याउनेछन् भन्ने कुरामा म विश्वस्त छु।’
उनका अनुसार पुस्तकहरू बिस्तारै जुट्न थालेका छन्। धेरैले पुस्तकालयलाई आ-आफ्ना पुस्तकहरू दिइरहेको उनले बताएकी छन्। साथै यस महत् कार्यमा सहयोग पुऱ्याउने सहृदयी मानिसहरूप्रति पनि लामाले आभार प्रकट गरेकी छन्।
प्रणिता लामाका अनुसार यस कार्यमा उनलाई सिलगढ़ीनिवासी साहित्यकार कृष्ण प्रधान र डुवर्सका रमेश गुरुङले विशेष सहयोग गरेका छन्।