दार्जीलिङ, 14 मार्चः शनिवार रिम्बिक-लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत एकअधीनस्थ तामाङ गाउँमा गएको पैह्रोको कारण आफ्ना आमा-बाबा र भाइ गुमाएकी सन्ध्या तामाङलाई काख लिएर उनको सम्पूर्ण शिक्षा-दीक्षाको जिम्मेवारी लिने जीटीए बीओएका अध्यक्ष अनित थापाले घोषणा गरेका छन्।
पैह्रोको यस बीभत्स घटना सुनेपछि आजै थापा पीड़ित परिवारलाई भेटका लागि रिम्बिक-लोधोमा पुगेका थिए। यसअवसरमा उनले पीड़ित परिवार र गाउँलेहरूसँग घटनाबारे जानकारी लिए।
यसैबीच केही दिनअघि फेञ्चेटार मामा घरमा गएको कारण भाग्यवश यो बीभत्स घटनाबाट बाँचेकी 9 वर्षीय सन्ध्या तामाङलाई आफ्नी छोरीसरह बनाएर राख्ने तथा शिक्षा-दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने घोषणा गरे।
यसका साथै उनले पीड़ित परिवारलाई जीटीएको तर्फबाट एक लाख रुपियाँ र राज्य सरकारको तर्फबाट दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने पनि बताए।
अर्कोतिर, गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले गहिरो शोक व्यक्त गर्दै मृतकहरूको आत्माशान्तिका लागि कामना गरेका छन्।
“आज बिहानै यो घटना सुनेपछि म मर्माहत बनेको छु”, विनयले भनेका छन्, “यस घटनाको पीड़ित परिवारप्रति पार्टीले समवेदना प्रकट गरेको छ। साथै पार्टी उनीहरूको साथमा छ।”
उल्लेखनीय छ, आज बिहानीपख झरेको पैह्रोमा पुरिएर पति-पत्नी क्रमैले निमदोर्जी तामाङ र पेम डिकी तामाङसहित पाँच वर्षे छोरो नेहाल तामाङको बीभत्स मृत्यु भएको थियो।
तामाङ परिवारले खाने पानीका लागि तानेको पाइप फुस्किएर रातभर पानी सोसिएको कारण पैह्रो गएको स्थानीयहरूको भनाइ छ।