एनआरसी, सीएए र एनपीआर विषयमा विनयपन्थी मोर्चाले दुईदिने सङ्गोष्ठी गर्ने

0
1479
पत्रकारहरूलाई सम्बोधन गर्दै केशवराज पोख्रेल र अन्य।

दार्जीलिङ, 14 मार्चः विनय तामाङपन्थी गोजमुमोको रिसर्च एण्ड स्टडी एकाइले आउँदो 21 र 22 मार्चका दिन एनआरसी, सीएए र एनपीआर विषय लिएर एक राष्ट्रियस्तरको सङ्गोष्ठी गर्ने तय गरेको छ।

यस दुईदिने सङ्गोष्ठीको पहिलो दिन अराजनीतिक वक्ताहरू र दोस्रो दिन राजनीतिक वक्ताहरू वक्ताहरूले यी विषयहरूमाथि आफ्नो विचार राख्ने भएको विनयपन्थी मोर्चा केन्द्रिय समितिका सहसचिव केशवराज पोख्रेलले बताएका छन्।

स्वराज अभियानका महासचिव एवं सर्वोच्च न्यायालयका अधिवक्ता अविक शाह, एनआरसी विशेषज्ञ असमका हरि ढुङ्गेल, कालेबुङका नाट्यकर्मी सीके श्रेष्ठ, जनआन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीलगायत एनआरसीबाट पीड़ित असमका केही नागरिक पनि यस सङ्गोष्ठीमा उपस्थित रहने उनले बताए।

पोख्रेलका अनुसार यस सङ्गोष्ठी दार्जीलिङको क्यापिटल थिएटरमा आयोजना गरिनेछ।

उनले सङ्गोष्ठी दार्जीलिङको क्यापिटल थिएटर हलमा आयोजना गर्नुको उद्देश्यबारे स्पष्ट पार्दै भने, “एनआरसी, सीएए र एनपीआर  विषय लिएर क्यापिटल थिएटर हलमा सङ्गोष्ठीको आयोजना गरी देशलाई नै एउटा सन्देश दिनु हो। किनभने, दार्जीलिङ नगरपालिका स्थापना भएको सन् 1850-मा हो, यसको सोझो अर्थ दार्जीलिङमा गोर्खा समुदाय 1850-भन्दा अघिदेखि बस्दै आएका हुन्।”

यसै सन्देश दिनका लागि पनि एनआरसी, सीएए र एनपीआर विषयमाथि क्यापिटल थिएटर हलमा सङ्गोष्ठी आयोजना गर्ने निर्णय गरिएको उनको भनाइ छ।

“एनआरसी, सीएए र एनपीआर तथा राजनीतिक परिणाममाथि आयोजना गरिने यस सङ्गोष्ठीमा आउनेहरूका लागि स्क्रिनिङको व्यवस्था गरिने भएको छ” पोख्रेलले थपे, “विशेष हाल कोरोना भाइरसको कारण फैलिरहेको आतङ्कलाई ध्यानमा राखेर नै सतर्कता अपनाउन पार्टीले जिल्ला प्रशासन र स्वास्थ्य विभागको सहयोगमा विशेष बाहिरबाट आउने सहभागीहरूका लागि यस्तो व्यवस्था गरेको हो।”

कोरोना भाइरसको कारण हाल देशसँगै विश्वकै ध्यान यसतिर आकर्षित भइरहे पनि एनआरसी, एनपीआर र सीएएको मुद्दा शान्त भएको छैन।

यस विषय लिएर देशका अन्य स्थानहरूमा अझै पनि विरोध जारी छ, यसै क्रममा दार्जीलिङले पनि यस विषयलाई गतिलैसित अघि बढ़ाउने निर्णय लिएको उनले बताएका छन्।

यसका लागि पार्टी र रिसर्च एण्ड स्टडी फोरमले असमबाट पूर्व सांसद आरपी शर्मा, असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईका छोरा एवं वर्तमान सांसद गौरव गोगोईलगायत अन्य विशिष्ट व्यक्तित्वहरू पनि आउने विनयपन्थी मोर्चा केन्द्रिय समितिका सहसचिव केशवराज पोख्रेलले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here