दार्जीलिङ 15 मार्चः अगमसिंह गिरी संस्थान सलुवाबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘परदेशी’-को ‘गुप्त प्रधान अभिनन्दन विशेषाङ्क’-को विमोचन आइतवार दार्जीलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा सम्पन्न भयो।
यसै कार्यक्रमबीच वरिष्ठ कथाकार गुप्त प्रधानलाई अगमसिंह गिरी संस्थान सलुवाको तर्फबाट संवर्द्धना पनि जनाइयो।
कार्यक्रममा दुई दिनअघि निधन भएकी साहित्याकर इन्द्रमणि दर्नालको स्मृतिमा दुई मिनटको मौन प्रार्थना गरिएको थियो।
लोकार्पित विशेषाङ्कबारे कवि मनप्रसाद सुब्बाले आफ्नो विचार राखे। उनले आफ्नो सम्बोधनमा परदेशीको यस अभिनन्दन विशेषाङ्कलाई विशेषाङ्क नभनेर ग्रन्थ भन्न सकिने कुरा बताए।
यसका साथै विशेषाङ्कका अतिथि सम्पादक डा. महेश दाहालले पनि वक्तव्य राखेका थिए।
कार्यक्रममा कवि केवलचन्द्र लामाले कविता वाचन गरे भने गायिका सोनु राई, तिलक राई ‘दुमी’-ले साङ्गीतिक प्रस्तुति दिए।
साहित्यमा नाटक लेखेर प्रवेश गरेको तर प्रकाशनको दृष्टिले भने कविता पहिलो रचना रहेको अभिनन्दित साहित्यकार गुप्त प्रधानले बताए।
यसअवसरमा आफूलाई सधैं मर्यादाभित्र राखेर साहित्य लेख्ने प्रयास गरेको पनि प्रधानले आफ्नो सम्बोधनमा खुलाए।
“किनभने समाजको मर्यादा भत्काएर उच्छृङ्खल लेख्नु हुन्न भन्ने मलाई अझै लाग्छ”, प्रधानले भने, “यसैले मर्यादा तोड़ेर कहिल्यै पनि साहित्य लेख्ने सोचिनँ।”
यसका साथै अगमसिंह गिरी संस्थानले आफ्नो विशेषाङ्क प्रकाशित गरिदिएकोमा प्रधानले आभार व्यक्त गर्दै यसका लागि आफू जीवनभरि ऋणी रहने पनि बताए।
कवि मोहन ठकुरीको अध्यक्षतामा आयोजित यस समारोहमा कवि टेकध्वज जिम्बा, प्रेम प्रधान, डा. सुजता रानी राई, एम. पथिकलगायत संस्थानका सचिव विकास कार्की तथा अन्य विशेष रूपमा उपस्थित थिए।
कार्यक्रममा अगमसिंह गिरी संस्थानले विशेषाङ्कमा रचना छाप्ने लेखकहरू तथा कला सङ्गम मञ्चका सदस्यलगायत अन्यलाई पनि स्मृति चिह्न र विशेषाङ्क प्रदान गरेको थियो। कार्यक्रमलाई कवि उषा किरण सत्यदर्शीले सञ्चालन गरेकी थिइन्।