कालेबुङ, 15 मार्चः विमल गुरुङपन्थी गोजमुमो कार्यकर्ता सुमन छेत्रीलाई शनिवार राति कालेबुङ पुलिसले पक्राउ गरेको छ।
2017-को गोर्खाल्याण्ड आन्दोलनअवधि हिंसक गतिविधिमा संलग्न रहेको आरोपमा छेत्रीमाथि यूएपीए मुद्दा लागेको सूत्रले बताएको छ।
अर्कोतिर, सुमन छेत्रीको पक्राउप्रति विमलपन्थी मोर्चाले तीखो शब्दमा आपत्ति जनाएको छ।
विमलपन्थी मोर्चाको आरोपका अनुसार छेत्रीलाई जस्तै एउटै मुद्दा लागेको जीटीए-दुईका समर्थक बुद्ध राईलाई भने पुलिसले पक्राउ गरेन।
‘सुमन छेत्रीलाई मात्र पुलिसले किन पक्राउ गर्यो? जबकि जुन मुद्दामा सुमन छेत्रीलाई पक्राउ गरियो, त्यो मुद्दामा उनले न्यायालयबाट अघिबाटै जमानत पाइसकेको थिए’, विमलपन्थी मोर्चाले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘के विमल गुरुङका समर्थक भनेर मात्र सुमन छेत्रीलाई पुलिसले पक्राउ गरेको हो? के यो देशमा कानूनका एउटै धारा पार्टीको झण्डा हेरेर मात्र थोपिन्छ? प्रशासनको यस्तो गैरजिम्मेवारीपूर्ण कार्यको हामी कड़ा शब्दमा विरोध जनाउँदछौं।’
जानकारीका अनुसार विमलपन्थी गोजमुमो कार्यकर्ता सुमन छेत्रीकी पत्नी राखी छेत्री पनि 2017 -को गोर्खाल्याण्ड आन्दोलनअवधि पक्राउ परेकी थिइन्। त्यसबेला उनी 53 दिन जेल बसेपछि जेलमुक्त बनेकी थिइन्।
यसैबीच, विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाले छेत्रीलाई चाँड़ो रिहाइ गरिनुपर्ने माग गर्नका लागि बङ्गाल सरकारले कोल्टे नीति अपनाएको भन्दै यसको घोर विरोध पनि गरेको छ।
सूत्रका अनुसार आज छेत्रीलाई कालेबुङ अदालतमा प्रस्तुत गरिएको थियो भने अदालतले न्यायिक हिरासत पठाएको छ।