मिरिक, 16 मार्चः सुकना-पानीघट्टा समष्टिकी पूर्व सभासद् एवं विमल गुरुङपन्थी गोर्खा जनमुक्ति नारी मोर्चा कार्यकर्ता चम्पा विभारलाई पुलिसले पक्राउ गरेको छ।
सूत्रका अनुसार विभारलाई हिजो बेलुकी करिब 7 बजे सिलगढ़ीबाट पक्राउ गरिएको हो। मिरिक पुलिसका अनुसार 2017 को गोर्खाल्याण्ड आन्दोलनका मुद्दाहरूमा उनी पक्रा परेकी हुन्।
आज बिहान उनलाई मिरिक थानाबाट खरसाङ चलान गरिएको छ।
उल्लेखनीय छ, विमलपन्थी मोर्चाकी सक्रिय कार्यकर्ता चम्पा विभार 2017 को गोर्खाल्याण्ड आन्दोलनअवधि पनि पक्रा परेकी थिइन्।
त्यसपछि जेल सजायपछि उनी मुक्त भएकी थिइन्। अर्कोतिर मिरिक पुलिसका अनुसार 2017 को गोर्खाल्याण्ड आन्दोलनका कतिपय मुद्दामा वारण्ट जारी भएको थियो। जसको फलस्वरूप विभारलाई हिजो पक्राउ गरिएको पुलिसको भनाइ छ।
अर्कोतिर, पुलिसले फेरि पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा मुद्दा लागेका विमलपन्थी मोर्चाका कार्यकर्ताहरू पक्राउ गर्न शुरु गरेको छ। हिजो मात्र कालेबुङ पुलिसले पेदोङ साक्योङनिवासी सुमन छेत्रीलाई पक्राउ गरेको थियो, जसलाई अदालतले न्यायिक हिरासतमा पठाएको छ।