दार्जीलिङ, 16 मार्चः विनयपन्थी युवा मोर्चाका मुख्य सल्लाहकार सञ्जय थुलुङका एक हुल समर्थकले गोरामुमो कार्यकर्ता उदीप तामाङलाई कुटपिट गरेको आरोप गोरानासंले लगाएको छ।
गोरानासंको आरोपका अनुसार हिजो राति करिब 11 बजे सञ्जय थुलुङका समर्थकहरू घरमै गएर उदीप तामाङलाई कुटपिट गरेका हुन्।
कुटपिटमा घाइते बनेका तामाङलाई दार्जीलिङ इडेन अस्पतालमा भर्ती गरिएको छ।
यसै घटनाबारे बोल्दै आज गोरानासं नेतृ एवं जनचेतना सङ्घर्ष समितिकी अध्यक्ष मञ्जिला तामाङले हात-हतियार बोकेका थुप्रै युवाले उदीपसँगसँगै उनकी श्रीमतीसँग हातपात गरेको आरोप लगाइन्। साथै उनीहरूका साना नानीलाई समेत ती युवाहरूले समातेर एकातिर फ्याँकिदिएको तामाङले आरोप लगाएकी छन्।
‘‘यो कस्तो गुण्डागर्दी हो? नयाँ सोच नयाँ विचार यस्तै हो? हामी पहाड़मा शान्ति चाहन्छौं। हामीले सहेर पनि पहाड़मा शान्ति ल्याऊँ भन्ने सोचेका छौं’’, उनले थपिन्, ‘‘गोजमुमोले यो नसोचोस्, 2007-को हामी होइनौं अब। 2020 लागिसक्यो। यदि गुण्डागर्दी होइन भने 8 बजेको घटना सकिसकेपछि 11 बजे राति उनीहरू उदीप तामाङको घरमा कसरी गए?’’
यसका साथै उनले गोरामुमोलाई धेर नचलाउने विनयपन्थी मोर्चालाई चेताउनी दिइन्। यसैबीच, यस घटनामा गोरामुमोलाई तानेर विनयपन्थी मोर्चाले राजनीति गर्न खोजिरहेको पनि बताइन्।
अर्कोतिर तामाङले पहाड़मा विनयपन्थी गोजमुमोले अशान्ति गरिरहेको आरोप लगाइन्। यसका लागि उनले पछिल्लो 10 मार्चका दिन मल्ली बजारमा भएको गोलीकाण्डलाई उदाहरण दिइन्।
यसैगरी घाइते भनेका उदीप तामाङकी श्रीमती करिश्मा तामाङले आफ्ना पतिलाई हिर्काउन आएका युवाहरूले आफूमाथि पनि हातपात गर्नका साथै छिमेकी एक युवतीलाई पनि खुकुरी देखाएर धम्की दिएको आरोप लगाइन्।
यसैबीच दार्जीलिङ जिल्ला अस्पतालमा उपचारको लागि भर्ना भएका उदीप तामाङसँग घटनाबारे जान्न चाहँदा उनले आफ्ना एकजना गाड़ी चालक साथीलाई कुटपिटको घटनाबाट बचाउने खोजेको निहुँ गरेर आधा रातमा एक हुल युवाहरू आएर आफूमाथि पनि हमला गरेको बताए।