दार्जीलिङ, 16 मार्चः सिङ्ला चियाकमानका महाप्रबन्धकको बङ्लोमा आगलागीजस्तो घटनाले चियाकमान खोलिने आशा झनै गरेर जाने तृणमूल कङ्ग्रेसले बताएको छ।
यसका साथै चियाकमानको सम्पत्ति सुरक्षाका लागि प्रशासनले सबै बन्द चियाकमानमा कठोर सुरक्षाको व्यवस्था गरिदिनुपर्ने दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले माग गरेको छ।
आज दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले बन्द अवस्थामा रहेको सिङ्ला चियाकमानको भ्रमण गरेपछि यस्तो माग गरेका हुन्। जुन चियाकमानका महाप्रबन्धकको बङ्लो हिजो जलेर खरानी भएको थियो।
यसका साथै उनले यस चियाकमानका महाप्रबन्धकको बङ्लोमा कसैले आगो लगाइदिएको हो वा आफै आगो लागेको हो, त्यो अझैसम्म स्पष्ट भएको छैन। तर यसप्रकारका घटनाहरू हुन नदिने वा रोक्नका लागि हाल अचल अवस्थामा रहेका सबै चियाकमानमा उचित सुरक्षाको व्यवस्था हुनुपर्ने खवासको माग छ।
यसै विषय लिएर आज तृणमूल कङ्ग्रेसले दार्जीलिङका सह-श्रमायुक्तका साथै पुलिस अधिकारीहरूसँग भेट गरी कुराकानी गरेको पनि उनले बताए।
“एकातिर बन्दावस्थामा रहेका सिङ्ला र सिङ्तामलगायत अन्य चियाकमानहरूलाई पुनः खोलाउने प्रयास चलिरहेको छ। सिङ्ला चियाकमान खोल्ने विषय लिएर आउँदा 2-3 दिनपछि बैठक हुने निश्चित भएको थियो”, तृणमूल नेता एनबी खवासले थपे, “तर हिजो सिङ्ला चियाकमानका मुख्य प्रबन्धकको बङ्लो जलेर खरानी भएको घटनाले सबै निराश बन्नु स्वाभाविक नै हो। यसैले चियाकमानवासी जनताले पनि आफ्नो चियाकमानलाई आफ्नै सम्पत्ति सम्झेर सुरक्षा दिने काम गर्नुपर्छ।”
यसका साथै उनले हिजो राति दार्जीलिङमा विनय तामाङपन्थी गोर्खा जनमुक्ति युवा मोर्चाका प्रमुख सल्लाहकार सञ्जय थुलुङ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ता उदीप तामाङबीच भएको झगड़ाकाण्डको पनि विरोध गरेका छन्।
“दार्जीलिङ पहाड़लाई शान्ति राख्न सबै पार्टीको कर्तव्य हो”, खवासले थपे, “सबैले आफ्नो कर्तव्य पूर्ण इमानदारसित निर्वाह गर्नुपर्छ।”
यसैगरी यी तृणमूल नेताले यस घटनामाथि पुलिस प्रशासनले निष्पक्ष बनेर जाँच गर्नुपर्ने पनि माग गरेका छन्।