दार्जीलिङ, 16 मार्चः विश्वभरि नै फैलिरहेको कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर दार्जीलिङ जू र हिमालयन पर्वतारोहण संस्थान प्रशासनले भोलि अर्थात् 17 मार्चदेखि जू र एचएमआईलाई आउँदो 31 मार्चसम्मका लागि बन्द राखेका घोषणा गरेका छन्।
यद्यपि एचएमआई र जू प्रशासनले यसमा कसैलाई पनि आतङ्कित नबनिदिने अपील गरेका छन्।
दार्जीलिङका यी दुई प्रमुख पर्यटन केन्द्रमा दिनहुँ बाक्लो सङ्ख्यामा पर्यटकहरूको जमघट हुने भएकाले दुवै संस्थानलाई भोलिदेखि 31 मार्चसम्म बन्द राख्ने घोषणा गरिएको हो।
यसैबीच, आज पश्चिम बङ्गाल सरकारले एक नयाँ अधिसूचना जारी गरेर 31 मार्चको सट्टा आउँदा 15 अप्रेलसम्मका लागि राज्यभरिका सम्पूर्ण शैक्षिक संस्थानलाई बन्द राख्ने घोषणा गरेको छ।
गत केही दिनअघि राज्य सरकारले एक अधिसूचना जारी गर्दै 16 मार्चदेखि 31 मार्चसम्म मात्रै राज्यका स्कूल, कलेज तथा अन्य शैक्षिक संस्थानहरूलाई बन्द राख्ने घोषणा गरेको थियो।
आज नयाँ अधिसूचना जारी गरी पुनः बन्दावधिलाई लम्ब्याएको हो। तथापि बोर्ड परीक्षाहरू यथावतरूपले चल्ने पनि जनाइएको छ।