गोजमुमो सिक्किम शाखाले भोलि ‘शपथ दिवस’ पालन गर्ने

0
1354
शहीद वरुण भुजेल। 

गान्तोक, 24 अक्टोबर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)- सिक्किम राज्य शाखाले पार्टी अध्यक्षको निर्णयलाई शिरोपर गर्दै आगामी 25 अक्टोबरको दिन छुट्टै राज्य गोर्खाल्याण्ड राज्य प्राप्तिका लागि शहीद बनेका वरुण भुजेलको पहिलो पुण्यतिथिलाई शपथ दिवस’-को रूपमा पालन गर्ने निर्णय गरेको छ।
गोजमुमो सिक्किम शाखाले पार्टी प्रमुखको निर्णयलाई पूर्ण रूपले सहयोग र समर्थन गर्दै भोलि अर्थात् बिहीवार शपथ दिवस मनाउने निर्णय गरेको हो। 
स्मरणरहोस्, पछिल्लो वर्ष 25 अक्टोबरको दिन पुलिस हिरासतमा नै मृत्यु भएका शहीद वरुण भुजेलको पहिलो पुण्यतिथिलाई विमलपन्थी गोजमुमोले शपथ दिवसमनाउने निर्णय गरेको छ। पछिल्लो सोमवार विमल गुरुङले एक विज्ञप्ति जारी गरी गोर्खाल्याण्डका लागि सङ्घर्ष गर्दै पश्चिम बङ्गाल पुलिसको क्रूर पञ्जामा परी कस्डडियल डेथ’ –को शिकार बनेका सङ्ग्रामी वरुण भुजेलको पहिलो पुण्यतिथि 25 अक्टोबरलाई गोर्खा जनमुक्ति मोर्चाले शपथ दिवस’-को रूपमा पालन गर्ने निर्णय गरेको बताएका थिए।
यता, बिहीवार सिक्किम शाखाका अध्यक्ष गणेश छेत्री, उपाध्यक्ष महेन तामाङ र महासचिव सकुल राईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सिक्किम शाखाले पनि शपथ दिवस कार्यक्रम पालन गर्ने बताएका हुन्। उनीहरूले गोजमुमो सिक्किम शाखा विमल गुरुङनेतृत्व गोजमुमोकै एक अंश रहेकोले छुट्टै राज्य गोर्खाल्याण्डको सङ्घर्षका लागि पार्टी प्रमुख गुरुङलाई सधैँ साथ र सहयोग दिइरहने प्रतिबद्धता जाहेर गरेका छन्।
गोजमुमो सिक्किम शाखाका यी प्रतिनिधिहरूले विज्ञप्तिमा वरुण भुजेल र अन्य सबै शहीदको बलिदान व्यर्थै खेरो नजाने दाबी पनि गरेका छन्। साथै गोर्खाल्याण्ड राज्य गठन भए मात्र यी शहीदहरूले देखेको सपना पूरा हुने बताएका छन्। उनीहरूले भोलिको  शपथ दिवसमा गोर्खाल्याण्ड राज्य गठन नभएसम्म सबैले यसका प्राप्तिका लागि सङ्घर्ष गरिरहने शपथ लिनुपर्ने आह्वान गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here