कोरोना कहरः सन्दकफू र टाइगर हिल पनि बन्द, भोलि जीटीएको महत्त्वपूर्ण बैठक

0
1179

-21 र 22 मार्चको सङ्गोष्ठी स्थगित

18 मार्चको गोजमुमोको सभा पनि स्थगित

होमस्टेहरू बन्द

अदालतले अत्यावश्यक मुद्दामाथि मात्रै काम गर्ने   

दार्जीलिङ, 17 मार्चः कोरोना भाइरसले दार्जीलिङ पहाड़लाई पनि लगभग अचल बनाइसकेको छ। पूर्व नियोजित सम्पूर्ण कार्यक्रम एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन्। फलस्वरूप आम जनतामा आतङ्क पनि उत्तिकै बढ्न थालेको छ।

यसैबीच, विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाको रिसर्च एण्ड  स्टडी एकाइले एनआरसी, सीएए र एनपीआर विषयमा आउँदो 21 र 22 मार्चका दिन आयोजना गरेको सङ्गोष्ठी पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ भने गोजमुमो केन्द्रिय समितिले आउँदो 18 मार्चका दिन गर्ने भएको बैठकलाई पनि स्थगित गरेको घोषणा गरेको छ।

यति मात्रै होइन, आजदेखि दार्जीलिङका मुख्य पर्यटन स्थलहरू क्रमैले सिञ्चेल वाइल्ड लाइफ सेन्चुरि वा टाइगर हिल, सिंहलीला राष्ट्रिय उद्यान वा सन्दकफू र महानन्दा वाइल्ड लाइफ सेन्चुरिलाई पनि आजदेखि बन्द गरिएको छ।

यसका साथै आजदेखि पद्मजा नायडु हिमालयन जुलोजिकल पार्क अर्थात् दार्जीलिङ जू, हिमालयन पर्वतारोहण संस्थान (एचएमआई)-लाई पनि बन्द गरिएको छ।

अर्कोतिर दार्जीलिङ पहाड़का अधिकांश होमस्टे पनि बन्द गरिएको जानकारी पाइएको छ। यद्यपि, अहिलेसम्म दार्जीलिङमा पर्यटकहरूको आगमन भइरहेको छ।

यसैलाई ध्यानमा राखेर गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले भोलि स्थानीय होटल मालिकवर्ग, टूर ओपरेटर्स र गाड़ीका चालकहरूलाई लिएर पनि एक महत्त्वपूर्ण बैठक गर्ने तय गरेको छ, ताकि दार्जीलिङ पहाड़मा कोरोना भाइरसले कसैलाई पनि प्रभावित गर्न नसकोस्।

यसैले जिल्ला प्रशासन, जीटीए साथै अन्य विभिन्न विभागले पनि यस दिशामा उचित पहल गरिरहेका छन् भने यहाँका विभिन्न सङ्घ-संस्था आदिले सचेतना अभियान चलाउने कार्य पनि गरिरहेका छन्।

आउँदो 21 र 22 मार्चका दिन गर्ने भनिएको सङ्गोष्ठीलाई अनिश्चितकालका लागि स्थगित गरिएको सम्बन्धमा गोजमुमो सहसचिव केशवराज पोख्रेलले भने, “कोरोना भाइरसको कारण विश्व नै आतङ्कित बनिरहेको छ। केन्द्र र राज्य सरकारले पनि यसैलाई ध्यानमा राखेर शैक्षिक संस्थान, सार्वजनिक स्थलहरूलाई बन्द राख्ने घोषणा गरिसकेको छ। यसै विषयलाई केन्द्र गरी गोजमुमोले पनि 21 र 22 मार्चको राष्ट्रिय सङ्गोष्ठीलाई अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय लिइएको हो।” 

उनले भने, “एनआरसी, एनपीआर अनि सीएएको विरोधमा आयोजना गरिने सङ्गोष्ठीमा देशका विभिन्न स्थानबाट वक्ताहरू आउने निश्चित भइसकेको थियो, तर कोरोना भाइरसको कारण यस सङ्गोष्ठीलाई स्थगित गर्न परेको छ।

यसैबीच, दार्जीलिङ बार एसोसिएशनले पनि उच्च न्यायालयको निर्देशअनुसार, अत्यावश्यक मुद्दाहरूको मात्रै सुनवाइ गर्ने निर्णय लिएको छ।

यसै विषय लिएर पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङ बार एसोसिएशनका अध्यक्ष श्यामलाल प्रधानले भने, “गत 15 मार्चका दिन नै उच्च न्यायालयका रेजिस्ट्रार जेनरल राय चटोपाध्यायले एक सर्कुलर जारी गरी अदालत परिसरमा अनावश्यक भीड़भाड़ गर्न नदिने निर्देश दिएका छन्।

उनले थपे, “यसका साथै अति नै आवश्यक मुद्दामाथि मात्रै सुनवाई गर्ने र साधारण सुनवाईहरूलाई स्थगित नै गर्ने निर्देश दिइएको छ।

यसैले आउँदो 20 मार्चसम्म दार्जीलिङ जिल्ला अदालतमा अत्यावश्यक मुद्दाहरूमाथि मात्रै सुनवाई तथा काम हुने प्रधानले बताए।

उनका अनुसार 21 मार्चदेखि अदालतका क्रियाकलापहरू के कस्तो हुन्छ, त्यस विषय लिएर 21 मार्चको दिन नै एक समीक्षा हुने भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here