दार्जीलिङ पहाड़मा पर्यटकको आगमनमा रोक

0
962

-गाड़ीहरूलाई पहाड़मा पर्यटक नल्याउने अपील

-राजनैतिक कार्यक्रमहरूमा रोक

-साप्ताहिक हाट पनि बन्द

-सार्वजनिक भवनहरूमा कार्यक्रम बन्द

-विद्यार्थीहरूलाई बजार नघुमेर घरमै बस्ने अपील

-चियाश्रमिकहरूलाई निःशुल्क सेनिटाइजर र मास्क जीटीएले दिने

दार्जीलिङ, 18 मार्चः भोलि अर्थात् बिहीवारदेखि दार्जीलिङ पहाड़  पर्यटकमुक्त हुनेछ।

गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए )-ले आज दार्जीलिङका विभिन्न, होटल व्यवसायी, चालक सङ्गठन र विभागीय अधिकारीवर्गसँग एक बैठक गरेपछि भोलिदेखि दार्जीलिङ पहाड़मा पर्यटकहरू भित्रिन नदिने निर्णय लिएको हो।

यसका साथै जीटीएले पहाड़मागी गाड़ीहरूलाई पर्यटक बोकेर पहाड़मा नचढ़्ने अपीलसमेत गरेको छ।

यति मात्रै होइन, कोरोना भाइरस विशेष मानिसहरूको सम्पर्कले गर्दा नै सर्ने भएकोले यसलाई ध्यानमा राखेर जीटीएले सम्पूर्ण राजनीतिक पार्टीलाई राजनीतिक कार्यक्रमहरू पनि आउँदो 15 अप्रेलसम्म नगर्ने अपील गरेको छ।

यसका साथै जीटीएका बीओए अध्यक्ष अनित थापाले  दार्जीलिङ पुलिस अधीक्षकसमक्ष हाललाई दार्जीलिङ पहाड़मा कुनै पनि पार्टीलाई राजनीतिक कार्यक्रम गर्न अनुमति नदिने अपील गरे।

यसैगरी जीटीए क्षेत्रका विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने, होटल बुकिङ बन्द गर्ने, होटलमा अग्रिम बुकिङ भएको छ भने उनीहरूको पैसा नकाटी फर्काइदिने, सार्वजनिक भवनहरूको बुकिङ रद्द गर्ने जस्ता निर्णयलाई पनि भोलिदेखि कठोरताका साथ पालन गरिने भएको छ।

आज जीटीएको मुख्यालय लालकोठीमा जीटीए, जिल्ला प्रशासन, पुलिस, विभिन्न गैरसरकारी संस्था, गाड़ी चालक सङ्गठन, होटल-होमस्टे मालिक सङ्गठनहरूबीच कोरोना भाइरसलाई जीटीए क्षेत्रमा छिर्न नदिन के-कस्तो पहल गर्नुपर्छ भन्ने विषय लिएर नै एक सभा भएको थियो।

जीटीए अध्यक्ष अनित थापाको पहलमा आयोजन गरिएको यस सभामा अधिकांश सङ्घ-संस्थाका प्रतिनिधिहरूले दार्जीलिङ पहाड़मा पर्यटकको आगमनलाई शीघ्र बन्द गर्नुपर्ने माग उठाएका थिए।

यसै विषयलाई केन्द्र गरी जीटीए अध्यक्ष अनित थापाले भोलि 19 मार्चदेखि दार्जीलिङ पहाड़ अर्थात् जीटीए क्षेत्रमा पर्यटकहरूको आगमनमाथि पूर्णरूपले प्रतिबन्ध गरिएको घोषणा गरे।

यसका साथै उनले यस विषयमाथि जिल्ला प्रशासनलाई एक अधिसूचना जारी गर्ने पनि उनले अपील गरे।

यद्यपि, उनले हाल दार्जीलिङ पहाड़मा रहेका पर्यटकहरूलाई जबर्जस्ती खेद्न नहुने जनाउँदै उनीहरूलाई बिस्तारै यहाँबाट आ-आफ्नो घर प्रस्थान गराउन सहयोग पुर्‍याउने पनि होटल र होमस्टे मालिकहरूलाई अपील गरे।

उनले भने, “कोरोना भाइरसको कारण अहिले दार्जीलिङ पहाड़का सम्पूर्ण स्कूल, कलेज आदिलाई छुट्टी दिइएको छ। तर, अहिले पनि विद्यार्थीहरू स्थानीय चौरस्तातिर घुमिरहेका देखिँदैछ। ती विद्यार्थीहरू आ-आफ्नो घरमा नै बसेको उचित हुनेछ। ताकि कोही पनि कोरोना भाइरसको चपेटमा पर्न नसकोस्।”

यसैगरी जीटीएका बीओए अध्यक्ष अनित थापाले अब केही समयसम्मका लागि जीटीएले विकासका कामहरूको सट्टा कोरोना भाइरसबाट पहाड़का जनतालाई बचाउने कार्यमा नै बेसी ध्यान दिने घोषणा गर्दै अधिक मानिस भेला भएर पालन गरिने धार्मिक कार्यक्रमहरूलाई पनि हालका लागि स्थगित नै गर्न सम्बन्धित सबैलाई अपील गरेका छन्।

“अन्य विषयहरूमा मानिसहरूलाई निर्देश दिन सकिए तापनि धार्मिक कार्यक्रमहरूको लागि कसैलाई निर्देश दिन सकिँदैन” थापाले भने।

यसैबीच, उनले चियाश्रमिकहरूका लागि जीटीएले निःशुल्क रूपमा सेनिटाइजर र मास्क वितरण गर्ने योजना बनाएको पनि जनाए।

“कोरोना भाइरस सङ्क्रमित मानिसलाई जीटीए क्षेत्रमा प्रवेश गर्न नदिन सबै एकजुट भएर काम गर्नपर्छ”, अनित थापाले थपे, “हामी सबैले मिलेर कार्य गरे दार्जीलिङ पहाड़ पूर्णरूपले सुरक्षित हुनेछ।”

यसैले उनले कोरोनासित लड्नका लागि विभिन्न सङ्घ-संस्था तथा विभागीय अधिकारीहरूको एक समन्वय समितिको गठन गर्ने पनि अपील गरे।

“जसले यस समस्याबाट बच्न र जनतालाई बचाउन आगामी दिनमा के गर्नुपर्ने हो, त्यसमाथि सर-सल्लाह गरी उचित पदक्षेप लिन सकोस्”, उनले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here