सिङ्ताम चियाकमान भोलिदेखि खोलिने

0
1467

दार्जीलिङ, 18 मार्चः पछिल्लो  महिनादेखि बन्द अवस्थामा रहेको सिङ्ताम चियाकमान भोलिदेखि पुनः खोलिने भएको छ।

आज सिलगढ़ीमा बसिएको त्रिपक्षीय बैठकमा कमान खोल्नका लागि मालिकपक्ष सहमत भएको हो।

जोइन्ट फोरम दार्जीलिङ सब-कमिटीका प्रवक्ता सुनिल राईले यसबारे जानकारी गराएका छन्।

राईका अनुसार आजको बैठकमा निर्णय लिएअनुसार भोलि श्रमिकहरूलाई एक पालिको रोज र पर्सि अर्थात् शुक्रवार कर्मचारीहरूलाई वेतन दिइनेछ।

यसका साथै आउँदो 12 दिनभित्र  बाँकी सबै रोज र वेतनलगायत रहल 8 प्रतिशतको बोनस दिने मालिकपक्षले बताएको छ।

उल्लेखनीय छ, पछिल्लो 6 मार्चका दिन पनि सिङ्ताम र सिङ्ला चियाकमान खोल्ने विषयमा सहश्रमायुक्तको कार्यालय दार्जीलिङमा एक त्रिपक्षीय बैठक बसिएको थियो।

तर त्यस बैठकमा यी दुवै बन्द चियाकमान खोल्नेबारे ठोस निर्णय  भएकै कारण पुनः बैठक बसिएको हो।

स्मरणरहोस्, करिब 850 श्रमिक/कर्मचारी रहेको सिङ्ताम चियाकमान पछिल्लो 24 फरवरीका दिनदेखि बन्द अवस्थामा छ।

एकजना प्रबन्धकसँग दुर्व्यवहार गरेको कारण देखाएर मालिकपक्षले नोटिस पठाएर त्यसदेखि यस चियाकमान बन्द गरेको थियो।

आज बसिएको त्रिपक्षीय बैठकमा सिङ्ताम चियाकमान भोलिदेखि खोल्ने निर्णय लिए तापनि सिङ्ला चियाकमान खेल्नेबारे भने कुनै निर्णय भएन।

जोइन्ट फोरमका प्रवक्ता राईका अनुसार सिङ्ला चियाकमान खोल्ने विषयमा आउँदो 27-28 मार्चका दिन बैठक हुने सम्भावना छ।

यसका लागि मालिकपक्षलाई पत्राचार पनि गरिसकिएको उनको भनाइ छ। उल्लेखनीय छ, पछिल्लो 9 जनवरीका दिनदेखि सिङ्ला चियाकमान बन्द छ।

दिपेश लिम्बू नाम गरेका एक श्रमिकले यस चियाकमानका सहप्रबन्धक  ओमप्रकाश चोटियालाई हँसियाले प्रहार गरेपछि सुरक्षा कारण देखाउँदै त्यसै रातिदेखि मालिकपक्षले सिङ्ला चियाकमान बन्द गरेको हो, जुन चियाकमान आजका दिनसम्म खोलिएको छैन। सिङ्ला चियाकमानमा करिब 600 श्रमिक/कर्मचारी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here