सिलगढ़ी, 7 जनवरी : केन्द्रिय श्रमिक सङ्गठनहरूले भोलि र पर्सि अर्थात 8 र 9 जनवरीको दिन डाकेको भारत बन्दलाई सफल बनाउने आह्वान गर्दै सोमबार अपरान्ह वाममोर्चाले शहरमा ऱ्याली निकाल्यो।
स्थानीय बाघजतिन पार्कबाट शुरु भएको यो ऱ्यालीले शहरको हिलकार्ट रोड, सेभोक रोड, पानीट्याङ्की मोड र विधान रोड हुँदै पुनः बाघजतिन पार्कमा नै आएर सकिएको थियो। ऱ्यालीमा माकपाका वरिष्ठ नेता तथा सिलगढ़ीका विधायक एवं मेयर अशोक भट्टाचार्य, सीटु नेता समन पाठकलगायत जिल्ला वाममोर्चाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।
ऱ्यालीलाई अशोक भट्टाचार्य र समन पाठकले सम्बोधन गर्दै श्रमिक र आम मानिसहरूविरोधी केन्द्र सरकारको नीतिविरुद्ध केन्द्रिय श्रमिक सङ्गठनहरूले डाकेको यो दुईदिने भारत बन्दलाई सबै एकजुट भई सफल बनाउनुपर्ने आह्वान गरे।
अर्कोतिर यो बन्दलाई सफल बनाउन खोरीबारी खण्डअन्तर्गत पर्ने पानीट्याङ्कीमा पनि वाममोर्चाले ऱ्याली निकालेको थियो। ऱ्यालीमा माकपा नेता जीवेश सरकार, समन पाठक, राम कुमार छेत्री र सन्तोष सिंहलगायत अन्यको विशेष उपस्थिति थियो।