दार्जीलिङ, 19 मार्चः बिहीवार सांसद राजु विष्टले संसदमा कोरोना भाइरसलाई लिएर दार्जीलिङ पहाड़मा स्वास्थ्य सुविधाको अत्यधिक अभाव रहेको मुद्दालाई उठाए।
उनले राज्य सरकारले आफ्नो स्तरबाट कार्य गरिरहे तापनि त्यो पर्याप्त नरहेको पनि बताए।
उनका अनुसार बङ्गालदेश, नेपाल, भूटान र चीन गरी चारवटा अन्तर्राष्ट्रिय सीमाले घेरिएको तथा देशमै सबैभन्दा धेरै पर्यटक आगमन हुने दार्जीलिङ पहाड़लाई कोरोना भाइरसको प्रकोपबाट बचाउनका लागि सरकारको स्तरबाट जे जति जुन प्रयास गरिँदैछ, त्यो पर्याप्त छैन।
यसैले आफ्नो संसदीय क्षेत्रमा स्वास्थ्य सुविधा अत्यधिक कमी रहेकोले क्षेत्रमा स्क्रिनिङ, टेस्टिङ र राम्रो उपचारको व्यवस्था गर्नुपर्ने विष्टले केन्द्र सरकारसमक्ष अनुरोध गरे। यसका लागि अघिबाटै आफूले पत्राचारसमेत गरिसकेको पनि सदनलाई जानकारी गराए।
अर्कोतिर, उनले कोरोना भाइरसको प्रकोपले सिर्जित कठिन परिस्थितिमा पुणे, दिल्ली र कोलकाताजस्ता स्थानमा अनुहार हेरेर उत्तर-पूर्वी राज्य र दार्जीलिङका मानिसहरूमाथि नस्लभेदी टिप्पणी गरिरहेको मुद्दालाई पनि उठाए।
यसका साथै उनले यस्ता टिप्पणीलाई तत्कालै रोक्नुपर्ने तथा नस्लभेदी टिप्पणी गर्ने मानिसहरूविरुद्ध कारबाही गर्नुपर्ने सदनमा माग पनि गरे।
यसैबीच, दार्जीलिङ पहाड़ पर्यटनमाथि निर्भर रहेकोले पर्यटनमाथि भर परेर जीवनहरू धान्ने मानिसहरूको समस्यालाई ध्यानमा राखेर क्षेत्रका लागि स्पेशल प्याकेज दिनुपर्ने सांसद राजु विष्टले माग गरे।