दार्जीलिङ, 20 मार्चः बङ्गालका भाजपा अध्यक्ष एवं सांसद दिलीप घोषले गोर्खाहरूको स्थायी राजनीतिक समाधान हुनुपर्ने बताउँदै यसका लागि भाजपाले गरेको वाचाअनुरूप कार्य गरिरहेको दाबी गरेका छन्।
घोषले गोर्खा समुदाय आफ्ना भाषा, साहित्य, स्वाभिमान र सुरक्षाका लागि चिन्तित रहेकाले गोर्खा समुदायले छुट्टै राज्य गोर्खाल्याण्डको माग गरिरहेको उनले बताएका छन्।
यसअवसरमा उनले सुवास घिसिङको नेतृत्वमा गोरामुमो र त्यसपछि विमल गुरुङको नेतृत्वमा गोजमुमोले गरेको गोर्खाल्यान्डको आन्दोलनलाई उल्लेख गरेका छन्।
यसका साथै भाजपा अध्यक्ष घोषले भारतभरि गोर्खाहरूको सङ्ख्या करिब एक करोड़ 25 लाख रहेको तथा भाजपाले यी सम्पूर्ण गोर्खा समुदाय चिन्ता गर्ने बताएका छन्। ‘‘यी सबै गोर्खा समाज र उनीहरूको मान सम्मान, उनीहरूको प्रतिष्ठा र सुरक्षाबारे हामी चिन्ता गर्छौं। हामीलाई सम्पूर्ण गोर्खा समाजकै चिन्ता छ। गोर्खाल्यान्ड त तीनवटा विधानको हो’’, उनले थपे, ‘‘असमदेखि लिएर कर्नाटकसम्म देशभरि जति गोर्खा छन्, ती सबैको हामी चिन्ता गर्छौं। यसैले उनीहरूको सुरक्षा होस्, प्रतिष्ठा होस्। उनीहरूको भाषा र सम्मानमाथि आँच नआओस्, हेर्नुपर्छ।’’
एक भिडियोमा उनले थप भनेका छन्, ‘‘गोर्खा जाति एक स्वाभिमानी र देशभक्त जाति हुन्। देशका लागि उनीहरूले पनि बलिदान दिएका छन्। यसैले सम्पूर्ण गोर्खा जातिको उन्नति र सुरक्षा हुनुपर्छ भन्ने भाजपाले सोच्छ।’’
घोषको दाबीका अनुसार दार्जीलिङ पहाड़मा हुने गोर्खाल्याण्ड आन्दोलनको स्थायी राजनीतिक समाधान हुनुपर्छ भन्ने भाजपा चाहन्छ, जसमा गोर्खाको सपना पनि रहोस् र सम्मानसँग बाँच्न सकुन्।
यसका साथै उनले स्थायी राजनीतिक समाधानका लागि भाजपाले कार्य गरिरहेको दाबी पनि गरेका छन्।