डीटीडीपीएलयूले सोध्यो- कोरोनाबाट चियाश्रमिकलाई बचाउन के छ व्यवस्था?

0
1243
जेबी तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 20 मार्चः कोरोना भाइरसको चपेटबाट चियाश्रमिकहरूलाई बचाउन कस्तो पहल गरिँदैछ? भन्ने प्रश्न गर्दै आज विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले जिल्ला प्रशासन, चियाकमान मालिक सङ्गठनलगायत श्रम विभागलाई पत्र दिएको छ।

यसै विषय लिएर सङ्गठनका कार्यकारी अध्यक्ष जेबी तामाङले भने, “अहिले केन्द्र सरकार होस् वा राज्य सरकार दुवैले आफ्ना कर्मचारीहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउनका लागि उचित पदक्षेप लिने कार्य गरिरहेको छ। तर चियाश्रमिकहरूको सुरक्षा विषय लिएर अहिलेसम्म कुनै सुरक्षाका पदक्षेपहरू ग्रहण गरिएको छैन, न उनीहरूलाई यस महामारीबाट बच्नका लागि कुनै सन्देश दिने काम नै भइरहेको छ।’’

यसैले दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चियाश्रमिकहरूको सुरक्षालाई मुख्यरूपले ध्यान दिएर काम गर्ने सङ्कल्प गरेको तामाङले बताएका छन्।

यसैकारण आज सङ्गठनले दार्जीलिङ र कालेबुङका जिल्लापाल, दार्जीलिङ, खरसाङ, कालेबुङका सह-श्रमायुक्त साथै चियाकमान मालिक सङ्गठनहरूलाई पत्र दिएको उनले बताए।

“आज विश्वनै आतङ्कित बनाउने यो कोरोना भाइरस चियाश्रमिकहरूमा फैलिए के अवस्था हुन्छ, त्यो अकल्पनीय छ’’, जेबी तामाङले थप भने, “किनभने चियाबगानमा सयौंको सङ्ख्यामा एकसाथ काम गर्छन्।’’

यसैले अन्य स्थानमा मानिसहरूलाई भीड़ नबनाउनु भनेर विभिन्न व्यवस्था गर्ने कार्य भए पनि चियाकमानमा कुनै व्यवस्था आजका दिनसम्म नगरिएको उनको भनाइउ छ।

“दैनिक 176 रुपियाँ रोजी कमाउने चियाश्रमिकहरूमा यो रोग फैलिए उनीहरूको उपचार कसरी हुन्छ, त्यसमाथि प्रशासन अनि सरकारले शीघ्र देखरेख गर्नुपर्छ’’, तामाङले माग गरे।

उनले चियाकमानका मालिकहरूले आफ्ना श्रमिकहरूलाई एउटा मास्क किनेर दिनुपर्ने तर यस्तो केही पनि नगरिएको आरोप लगाए।

यसैबीच, अर्कोतिर राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले जनतामा साप्ताहिकरूपमा वितरण गरिने दुई रुपियाँ प्रतिकिलोग्राम चामल आगामी 6 महिनासम्म निःशुल्करूपमा प्रदान गरिने घोषणा गरेकी छन्।

यसका साथै राज्य सरकारको अधीनमा कार्यरत कर्मचारीहरूलाई रोटेशन गरेर काम गर्ने पनि घोषणा गरेकी छन्।

यसरी नै दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थान (एचएमआई)-ले आफ्नो भवनका 21 वटा रूम आइसोलेशन वार्ड बनाउनका लागि जीटीएलाई हस्तान्तरण गरेको छ।

यति मात्रै होइन, संस्थानका प्राचार्य जयकिशनले एचएमआईका सम्पूर्ण कर्मचारीलाई पनि कोरोना सङ्क्रमणविरुद्ध लड्नमा प्रयोग गर्ने अनुमति दिएका छन्, जसका लागि जीटीए अध्यक्ष अनित थापाले संस्थानप्रति आभार व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here