दार्जीलिङ, 21 मार्चः हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले दार्जीलिङ पहाड़मा रहेका पर्यटकहरूलाई सोमवार बिहान 10 बजेभित्र पहाड़बाट आ-आफ्नो घरतिर प्रस्थान गर्नुपर्ने बताएको छ।
यसका साथै कमिटीले अबोप्रान्त कुनै पनि गाड़ी पर्यटक ल्याएर दार्जीलिङ आए, उक्त गाड़ीलाई जफत गर्ने पनि चेताउनी दिएको छ।
केही दिनअघि एक बैठकको आयोजन गरी जीटीएले लिएका विभिन्न निर्णयलाई कठोरतासित लागू गर्नुपर्ने विषय लिएर नै आज हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटी, होटल ओनर्स एसोसिएशन र होमस्टे ओनर्स एसोसिएशनको एक संयुक्त बैठक सम्पन्न भएको थियो।
यस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीका अध्यक्ष एसएन प्रधान यसबारे जानकारी गराएका हुन्।
उनले भने, “गत केही दिनअघि जीटीएले लालकोठी विभिन्न गैरसरकारी संस्था, होटल ओनर्स एसोसिएशन, जिल्ला प्रशासन, पुलिस साथै गाड़ी चालक सङ्गठनहरूलाई लिएर एक सभाको आयोजन गरेको थियो, जुन बैठकमा सबैपक्षको विचार सुनेपछि जीटीएले दार्जीलिङ पहाड़मा पर्यटकको आगमनमाथि रोक लगाएको घोषणा गरेको थियो। तर, आज पनि दार्जीलिङमा पर्यटकहरू आइरहेका छन्, उनीहरूलाई सिलगढ़ीबाट ल्याउने, होटलमा राख्ने काम भइरहेको छ।”
उनले थपे, “यदि यस्तो स्थितिमा कोरोना भाइरसको सङ्क्रमण दार्जीलिङ पहाड़मा पनि फैलिए, यसले ठूलो विनाश गर्ने सम्भावना प्रबल छ। यसैकारण दार्जीलिङ पहाड़मा रहेका पर्यटकहरूलाई आगामी सोमबारभित्र यहाँबाट आ-आफ्नो घर फर्काउनुपर्छ साथै सिलगढ़ीबाट दार्जीलिङ आउने कुनै पनि गाड़ीले पर्यटक ल्याउन पाउने छैन।”
यसका साथै प्रधानले पश्चिम बङ्गाल सरकारको पर्यटन विभागले पनि दार्जीलिङ पहाड़मा पर्यटक ल्याउने काम गरिरहेको साथै ती पर्यटकहरूलाई दार्जीलिङ पहाड़का टुरिष्ट लजहरूमा राख्ने काम भइरहेको बताउँदै पहाड़का टुरिष्ट लजहरू पनि बन्द गर्नुपर्ने माग गरेका छन्।
यति मात्रै होइन, दार्जीलिङ हिमालयन रेलवेमा पनि धेरै पर्यटकहरू आरामसँग यात्रा गरिरहेको उनको भनाइ छ।
यसैले दार्जीलिङ हिमालयन रेलवे पनि आगामी 15 अप्रेलसम्म टोय ट्रेन सेवालाई बन्द राखेको उचित हुने उनले सुझाउ दिए। यसका साथै उनले भने, “हाल दार्जीलिङ पहाड़ प्रवेश गर्ने नाकाहरूमा मानिसहरूको जाँच भइरहेको भए पनि जाँच कार्य सन्तोषजनक ढङ्गमा भएको छैन।’’
यसैले सम्बन्धित विभाग र प्रशासनले यस विषयमाथि पनि गम्भीरता देखाउन आवश्यक रहेको उनको भनाइ छ, ताकि यी नाकाहरूबाट एकैजना पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति दार्जीलिङ पहाड़ छिर्न नपाउन्।
उनले स्थानीय जनतालाई पनि अत्यावश्यक काम भए मात्र दार्जीलिङ पहाड़बाट सिलगढ़ीसम्मको यात्रा गर्ने अनि यात्राको समय आफ्नो परिचय पत्रहरू बोकेमा राम्रो हुने सुझाउ पनि दिएका छन्।
साथै बिस्तारै हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले दार्जीलिङका प्रायः सिण्डिकेटहरू पनि आगामी केही समयसम्मका लागि बन्द गरेर राख्ने योजना बनाएको बताए।
यसैगरी प्रधानले दार्जीलिङ शहर वरिपरि अधिक भीड़ नगर्ने, फुटपाथतिर खाना बेच्ने दोकानहरू बन्द गर्नुपर्ने, हाटबजार बन्द गर्नुपर्ने, बार, रेष्टुरेन्ट आदिलाई पनि ठप्प पार्नुपर्ने अपील गर्दै स्थानीय मानिसहरूलाई पनि आ-आफ्नो परिवारसित नै केही दिन समय बिताउने आह्वान गरेका छन्।
यसैबीच, हिमालयन ट्रान्सपोर्ट को-अर्डिनेशन कमिटीले भोलि 22 मार्चका दिन प्रधानमन्त्रीले आह्वान गरेको ‘जनता कर्फ्यु’-लाई पूर्णरूपले पालन गर्ने बताए।
यसैले कमिटीले भोलि सम्पूर्ण गाड़ीको चलाचल बन्द राख्ने निर्णय लिएको उनको भनाइ छ।