एनएचपीसीका श्रमिकहरूको आगमनमा रोक लगाउने अनित थापाको माग

0
1188
अनित थापा (फाइल फोटो)।

दार्जीलिङ, 21 मार्चः कोरोना भाइरसको चपेटबाट बच्ने एउटै उपाय आफैलाई सबैबाट अलग राख्नु हो।

वर्तमान समयमा यो उपायबाहेक कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपाय अन्य केही नरहेको जीटीए अध्यक्ष अनित थापाले बताएका छन्।

यसका साथै उनले जनतालाई जतिसक्दो आफ्नो घरमा नै बसिदिने पनि अपील गरेका छन्। अत्यन्त आवश्यक परेको खण्डमा मात्र घरदेखि बाहिर निस्किने जनसाधारणलाई थापाले अपील गरेका छन्।

उनले भने, “कोरोना भाइरसले देश, नागरिक कसैलाई चिन्दैन। यसैले अहिले आफ्नो सुरक्षा आफै गर्ने समय हो।”

थापाले थप भनेका छन्, “कोरोना भाइरसको प्रकोपले विश्वलाई नै हल्लाइरहेको छ। दार्जीलिङ पहाड़मा यो प्रकोपको आशङ्काले दैनिक जीवन नै अस्त व्यस्त बनाइरहेको छ। यसैले हामीले प्रथमतः पर्यटकहरूलाई जीटीए क्षेत्रमा पस्न रोकमाथि लगायौं।”

यसैले दार्जीलिङ पहाड़का जनता जतिसक्दो आफ्नै घरमा नै बसिदिएको राम्रो हुने उनले बताएका छन्।

थापाका अनुसार जीटीए, दार्जीलिङ र कालेबुङका जिल्लापाल, पुलिस विभाग सबै युद्धस्तरमा कोरोना भाइरसको सङ्क्रमणको रोकथाममा लागिपरेका छन्।

यदि स्वास्थ्य विभागका निवेदन र दिशानिर्देशलाई जनताले पालन नगरेको खण्डमा यी सम्पूर्ण प्रयासहरू विफल भएर जाने जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

यसैबीच जीटीएले आज एक नयाँ आदेश जारी गरी भारत-नेपाल सीमा क्षेत्र पशुपति, सिमलबारी, ओकाइटी, चित्रे अनि बिन्दु नाकाहरूमा 24 घण्टा नै कोरोना भाइरसको स्क्रिनिङ हुने जानकारी गराएको छ।

यसैले जीटीए क्षेत्रका मानिसहरूले स्वयंलाई सबैबाट अलग राख्न अनिवार्य रहेको उनले थप बताएका छन्। किनभने कोरोना भाइरसको रोकथाम प्रत्येक जनताको हातमा छ।

“हाल शपिङ मल, रेस्टुराँहरूमा धेरै मानिसको जमघट भइरहेको छ, यसप्रकारको जमघटलाई शीघ्र बन्द गर्नुपर्छ”, थापाले भनेका छन्, “10 भन्दा बेसी मानिसको जमघट बन्द हुनुपर्छ। व्यापारिक प्रतिष्ठानहरूले मानिसहरूलाई बेसी भीड़ बन्न दिनु हुँदैन।”

उनका अनुसार पश्चिम बङ्गालमा कोभिड-19-को सङ्क्रमण विदेशबाट आउने व्यक्तिबाट शुरु भएको हो। जीटीए क्षेत्रमा विदेशबाट आउनेहरूले स्वयंलाई 14 दिनसम्म अलग राख्नुपर्छ।

यसैबीच, जीटीए अध्यक्षले नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपीसी) रम्बीका महाप्रबन्धकलाई एक पत्र पठाएर  एनएचपीसीमा काम गर्ने बाहिरका श्रमिकहरूको आगमनमाथि पूर्णरूपले प्रतिबन्ध लगाउने माग गरेका छन्।

एनएचपीसीका माह-प्रबन्धकलाई सम्बोधन गरी पठाइएको पत्रमा बङ्गालमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन शुरु भएको उल्लेख गर्दै दार्जीलिङ पहाड़ अझै संवेदनशील स्थान रहेको बताइएको छ।

“एनएचपीसीमा बाहिरका धेरै श्रमिकहरूले काम गरिरहेका छन्। यसैले उनीहरूको आगमनमा रोक लगाएको उचित हुनेछ”, थापाले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here