जोइण्ट फोरमको 23 र 24 मार्चको गेटसभा र अन्य कार्यक्रम स्थगित

0
1460
सुनिल राई।

दार्जीलिङ, 21 मार्चः जोइण्ट फोरमले पनि आगामी 23 र 24 मार्चको गेटसभालाई स्थगित गरेको घोषणा गरेको छ।

यसका साथै जोइण्ट फोरमले आफ्ना सम्पूर्ण आन्दोलनात्मक कार्यक्रम पनि हाललाई स्थगित गरिएको जोइण्ट फोरम दार्जीलिङ हिल सब्-कमिटीका प्रवक्ता सुनिल राईले बताए।

हाल विश्वव्यापी रूपमा कोरोना भाइरसले मानिसहरूलाई ठूलो सङ्कटमा पारिरहेको र यो भाइरसको खतरा दार्जीलिङ पहाड़मा पनि रहेकोले जोइन्ट फोरमले आफ्ना सबै कार्यक्रम हालका लागि स्थगित गरेको राईको भनाइ छ।

“दिन-प्रतिदिन मानिसहरू कोरोना भाइरसको चपेटमा आउनका साथै धेरैको मृत्यु भएको खबर सञ्चार माध्यमहरूबाट प्राप्त भइरहेको छ”, उनले थपे, “यसैले यस्तो अवस्था दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले पनि आफ्नो सुरक्षालाई ध्यानमा राख्नुपर्छ।”

राईका अनुसार ‘स्वास्थ्य नै धन हो’ भन्ने कुरालाई केन्द्र गरी चियाश्रमिकहरूले आफूसँगै आफ्ना परिवारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ।

“वर्तमान समयमा चियाश्रमिकहरू अधिक भीड़भाड़ हुने स्थानहरूबाट अलग भएकै उचित हुनेछ। साथै शहर-बजारमा पनि बेसी नआएकै असल हुनेछ” जोइन्ट फोरमका प्रवक्ताले थपे, “अत्यावश्यक काम छ भने मात्रै घरदेखि बाहिर गएको राम्रो हो। चियाश्रमिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर नै जोइण्ट फोरमले पनि आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।”

यसैगरी कोरोना भाइरसको सङ्क्रमण समाप्त भएपछि नै पुनः जोइण्ट फोरमले आफ्ना कार्यक्रमहरूलाई अघि बढ़ाउने निर्णय लिएको पनि उनले जानकारी गराएका छन्।

उल्लेखनीय छ, जोइण्ट फोरमले विशेष गरी चियाश्रमिकहरू बस्दै आएको जमीनको मालिकाना अधिकार दिलाउनका साथै चियाश्रमिकहरूका अन्य विभिन्न समस्या विषय लिएर चियाकमानका मालिकहरूमाथि चाप दिने उद्देश्यले नै आगामी 23 र 24 मार्चका दिन सम्पूर्ण चियाकमानमा गेटसभा गर्ने निधो गरेको थियो।

यसका साथै फोरमले आन्दोलनका अन्य रूपरेखा पनि तयार पारेको थियो। तर कोरोना भाइरसको सङ्क्रमणको कारण फोरम यी सम्पूर्ण कार्यक्रमलाई स्थगित गर्न बाध्य बनेको राईले जनाएका छन्।

स्मरण रहोस्, कोरोना भाइरसको चपेटबाट चियाश्रमिकहरूलाई बचाउने माग गर्दै हिजै मात्र विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले जिल्ला प्रशासन, चियाकमान मालिक सङ्गठनलगायत श्रम विभागसमक्ष पत्र पठाएको थियो।

सङ्गठनका कार्यकारी अध्यक्ष जेबी तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट चियाश्रमिकहरूलाई बचाउन अहिलेसम्म कुनै सुरक्षाका पदक्षेपहरू ग्रहण नगरिएको बताउँदै यस महामारीबाट बच्नका लागि कुनै सन्देश दिने काम नै नभएको बताएका थिए।

यसैले दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चियाश्रमिकहरूलाई स्वयं यस महामारीको चपेटबाट बच्न आफै उचित निर्णय लिने पनि आह्वान गरेका छन्। किनभने, यो महामारी भीड़भाड़ वा मानिसहरूमाझको सम्पर्कबाट नै सर्ने गर्छ भन्ने स्पष्ट छ।

यसैले दैनिक सयौंको सङ्ख्यामा एकसाथ काम गर्ने चियाश्रमिकहरूले भीड़बाट अलग हुन कस्तो उपाय अप्नाउनुपर्ने हो, त्यो स्वयं चियाश्रमिकहरूले नै निर्णय गर्नुपर्ने पनि तामाङको अपील छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here