– मुरारी त्रिपाठी
चीनले आफ्नो देशमा कोरोना भाइरसमाथि नियन्त्रण पाइसकेको छ। यो एउटा सन्तोक दिने खबर हो। चीनमा कोरोना भाइरसको कुनै नयाँ मामिला अघि आएको छैन।
34 वटा नयाँ मामिला निश्चय नै अघि आएका छन्, तर यी मामिलाहरू विदेशबाट चीन आएका मानिसहरूको हो।
यस आधारमा चीनले के दावी गरेको छ भने अब चीनमा कुनै नयाँ मामिला अघि आइरहेको छैन। तपाईंले चाहनुभए यस दावीलाई झूटो ठहर्याउन सक्नुहुन्छ, तर जतिखेर कोरोना भाइरस एउटा वैश्विक महामारी बनिसकेको छ, त्यतिखेर यति ठूलो स्तरमा यस्तो झूटो दावी कसैले शायदै गर्नसक्छ।
अब प्रश्न के उठ्छ भने चीनले यो उपलब्धि कसरी हासिल गर्यो? सबैभन्दा पहिला त हामी जुन मेडिकल र साइण्टिफिक फ्याक्टहरू छन्, ती त हामी जान्दछौं। सोशल डिस्टेन्सिङ, टेस्टिङ अनि जो पोजिटिभ थिए, उनीहरूलाई क्वारेन्टाइन गरियो। तर यी सबै यति ठूलो स्तरमा कसरी सम्भव हुनसक्यो? यही मूल प्रश्न हो।
यी सबै काम गर्नका लागि चीनले आफ्नो 4 लाख 38 हजार मेडिकल स्टाफलाई मोबिलाइज गर्यो। उनीहरूले दश दिनभित्र हजार हजार बेडका दुइवटा ठूला अस्पतालहरू बनाए। होटल, सिनेमाहल, सार्वजनिक भवनहरूलाई क्वारेन्टाइन सुविधाहरूमा परिणत गरिदियो। अर्थात् उनीहरूले सार्वजनिक रिसोर्सेसहरूको प्रयोग गरे, मार्केट इकोनमीको सहायता लिएनन्।
मार्केट इकोनमी यस किसिमको महामारीसित जुझ्नसक्दैन पनि। यो कुरा म तपाईंहरूलाई पछि बताउनेछु। केवल एउटा केन्द्रीकृत समाजवादी व्यवस्थाले मात्रै यस किसिमको महामारीलाई जित्नसक्छ।
चीनको अर्थव्यवस्थामा सार्वजनिक क्षेत्र धेरै बलियो छ, त्यसैले त्यहाँको सरकारसित यस महामारीसित जुझ्न धेरै रिसोर्सेस थिए। धेरै मानिस के मान्दछन् भने, चीनभित्र एउटा फ्री क्यापिटलिस्ट मार्केट छ।
यसमा कुनै सन्देह छैन, चीनभित्र एउटा क्यापिटलिस्ट सिस्टम पनि छ। तर मानिसहरू दुइवटा कुरा जान्दैनन्, त्यो के भने पहिलो, चीनभित्र क्यापिटलिस्ट कम्पनीहरूमा चीन सरकारको साझेदारी छ। कसैमा 30 प्रतिशत त कसैमा 40 प्रतिशत। सबै प्राइभेट कम्पनीहरूमा। चीनले यस सम्बन्धमा कानून नै बनाएको छ।
दोस्रो, 2008 -को वैश्विक आर्थिक सङ्कटपछि चीनमा निजीकरण र राष्ट्रियकरणको ट्रेन्ड रिभर्स भइसकेको छ। अर्थात् सन् 1978 -देखि 2008 -बीच चीनमा निजी क्षेत्रलाई धेरै तीव्र गतिमा बढ़ाइयो, तर 2008 -पछि चीनले लगातार फ्री मार्केटलाई खुम्च्याउँदै अनि राष्ट्रियकरण बढ़ाउँदै लगिरहेको छ।
तपाईंले चाहनुभएमा ठूलोभन्दा ठूलो पूँजीवादी खबरकागज अनि पत्रिकाहरू हेर्न सक्नुहुन्छ। द इकोनमिस्ट, वाल स्ट्रीट जर्नल, फाइनेन्सियल टाइम्स यी सबै पत्रिकाहरूले चीनको यस ट्रेन्डलाई पुष्टि गर्दछन्। यसैले आज चीनको सार्वजनिक क्षेत्र धेरै बलियो छ।
अब तपाईं सोचिरहनुभएको होला, यस किसिमको महामारीसित पूँजीवादी अर्थतन्त्र किन सक्षमतापूर्वक जुझ्नसक्दैन! यसो गर्नका लागि एउटा केन्द्रीकृत समाजवादी अर्थव्यवस्थाको किन आवश्यकता छ? यसका पछाड़ि चारवटा मूल कारण छन्।
पहिलो, फ्री मार्केट इकोनमीमा उत्पादन केवल मुनाफाका लागि गरिन्छ। मुनाफा केवल त्यतिखेर हुन्छ, जब तपाईं वस्तुहरूलाई बेच्न सक्नुहुन्छ। यदि एकजना गरीब मानिसलाई कोरोना भाइरस सङ्क्रमण हुन्छ अनि उसित टेस्ट गराउने र किट किन्ने पैसा भएमा तपाईं यी सेवाहरू उसलाई बेच्न सक्नुहुन्न, न त तपाईंलाई कुनै नाफा नै हुन्छ। यसैले उक्त गरीब मानिसका लागि न त किट तयार गरिनेछ न टेस्टिङको सुविधा नै दिइन्छ।
यसको अर्थ हो, एउटा महामारीलाई नियन्त्रणमा ल्याउनका लागि तपाईंले सम्पूर्ण समाजकै ध्यान राख्नुपर्नेछ, न कि त्यस श्रेणीको, जसले आफ्नै खर्चमा आफ्नो ख्याल राख्न सक्षम छ। पूँजीवादी प्रणालीमा उत्पादन सम्पूर्ण समाजको भलाइको लागि गरिँदैन।
महामारीसित जुझ्नका लागि समाजको हरेक मानिसले सेनिटाइजर पाओस्, टेस्टिङ किट पाओस्, अस्पतालहरूमा सुविधा पाओस्, इत्यादि।
यसका लागि यी जम्मै वस्तु र सेवाको ठूलो स्तरमा उत्पादन गरिनु अनि त्यसलाई मानिसहरूसम्म पुर्याइनुपर्छ। यी सबै कुरा मार्केट इकोनमीले गर्नसक्दैन।
दोस्रो कुरा, मार्केट इकोनमी कम्पिटिशनको आधारमा चल्दछ। फ्री मार्केटमा हरेक कम्पनीले अर्को कम्पनीसित प्रतिस्पर्द्धा गर्दछ। यस प्रतिस्पर्द्धाको कारण एउटा कम्पनीले अर्को कम्पनीसित कुनै जानकारी साझा गर्दैन। यस्तो स्थितिमा ओभर प्रोडक्शन (अति उत्पादन) र अण्डर प्रोडक्शन (अल्प उत्पादन) -को समस्या अघि आउँदछ।
यस आधारमा मार्केट इकोनमीमा यस्तो कुनै योजना बन्नसक्दैन कि यदि 10 लाख मास्कको आवश्यकता छ भने त्यति नै मास्क बनिन्छ। हरेक कम्पनीको मालिकले केवल यति नै अनुमान लगाउँदछ कि कतिवटा मास्कको माग छ।
मानिलिनुहोस्, कुनै एउटा कम्पनीले 10 लाख मास्क बनायो, अनि अर्को कम्पनीले पनि यति नै बनायो भने 10 लाख मास्क खेर जान्छ। यस्तैमा थाहा लाग्यो, मास्क बनाउने धुनमा कसैले सेनिटाइजर नै बनाएन। यस्तो स्थितिमा कम्पनीहरूले उत्पादन घटाउनुपर्ने हुन्छ, कर्मचारीहरूलाई नोकरीबाट निकाल्नुपर्ने हुन्छ। यसैले महामारीसित जुझ्न तपाईंसित एकदमै सटीक जानकारी हुनुपर्छ, जुन फ्री मार्केटको कम्पिटिशनको कारण सम्भव हुँदैन।
एउटा समाजवादी व्यवस्थामा तपाईंसित सटीक जानकारी हुन्छ भने तपाईंले विभिन्न कम्पनीहरूलाई बेग्ला-बेग्लै वस्तु एवं सेवाहरूको निर्माणमा लगाउन सक्षम हुनुहुनेछ र त्यसलाई चाँड़ोभन्दा चाँड़ो मानिसहरूसम्म पुर्याउन पनि सक्नुहुनेछ।
तेस्रो कुरा, तपाईंले देखिरहनु भएको छ, कोरोना भाइरस सङ्कटको कारणले विश्वभरिका स्टक मार्केटहरू डाउन छन्। एउटा क्यापिटलिस्ट मार्केटमा तपाईं कुनै पूँजीपतिलाई स्टक मार्केटबाट आफ्नो शेयर बेचेर पैसा फिर्ता लिनबाट रोक्न सक्नुहुन्न। यस्तो स्थितिमा मार्केटबाट पैसा एकाएक गायब हुन्छ, जसले महामारीलाई झनै खराब बनाइदिन्छ।
चौथो कुरा, क्यापिटलिस्ट सिस्टममा सबैभन्दा माथि जुन तब्का हुन्छ, त्यो पूँजीपति हो अनि उसैले नीतिगत फसेलाहरू लिन्छ। यस तब्कालाई यस किसिमको महामारीको मूल्य चुकाउनुपर्दैन।
एउटा उदाहरण दिनचाहन्छु- भर्खरै केही दिनअघि एउटा रिपोर्ट आएको थियो, जसअनुसार संसारका जुन सबैभन्दा धनी मानिसहरू छन्, उनीहरू कोरोना भाइरसबाट बाँच्न आ-आफूले किनेका टापुहरूमा गइसकेका छन्। त्यहाँ उनीहरूले बङ्कर्स बनाएका छन्।
एक अमेरिकी कङ्ग्रेसम्यानले आफ्नो बङ्करबाट ‘कोरोना’ नामक बीयर पिउँदै गरेको फोटो हालेका थिए, जसको पछि निकै आलोचना पनि भएको थियो। यसरी जुन धनी वर्ग छ, उसले आफ्नो धनको प्रयोग गरेर केवल आफूलाई बचाउने कोशिश गर्नेछ, समाजका लागि सोच्नेछैन। किनभने यिनीहरू सत्तामा पनि भएकोले समाजका लागि महामारीबाट बचाउने कुनै पनि किसिमको नीति पनि बनाउनेछैनन्।
यसैले एउटा केन्द्रीकृत समाजवादी आर्थिक व्यवस्था केवल कोरोना भाइरसजस्तो महामारीसित जुझ्नका लागि मात्र राम्रो नभएर सम्पूर्ण आर्थिक उत्पादनका लागि पनि जरूरी छ। उदाहरणका लागि पूँजीवादी नेता डोनाल्ड ट्रम्पलाई नै हेर्नुहोस्।
ट्रम्प रिपब्लिकन पार्टीका हुन् अनि घनघोर रूपमा फ्री मार्केटको पक्षपोषण गर्दछन्। अर्थात् सम्पूर्ण रूपले पूँजीवादी, अलिकति पनि समाजवादी होइन। तर उनी कोरोना भाइरस सङ्कटको बेला के गरिरहेका छन्?
डोनाल्ड ट्रम्पले भनेका छन्, हामी डिफेन्स प्रोडक्शन एक्टलाई लागु गरिरहेका छौं। यसअन्तर्गत अमेरिकी सरकारले मेडिकल प्रडक्शन र सुविधाहरूलाई अस्थायी रूपमा आफ्नो नियन्त्रणमा लिनेछ र युद्ध स्तरमा वस्तु एवं सेवाहरूको उत्पादन गर्नेछ।
अमेरिकाको यो डिफेन्स प्रोडक्शन एक्ट 1950 -को हो र यसलाई कोरियाली युद्धको समय बनाइएको थियो। यसको उद्देश्य के थियो भने, कोरियाली युद्धका लागि जे पनि चाहिन्छ, त्यसलाई अमेरिकी सरकारले बनाउनसकोस्।
यसअन्तर्गत अमेरिकी सरकारसित के अधिकार थियो भने उसले कुनै पनि निजी कम्पनीलाई आफ्नो नियन्त्रणमा लिनसक्थ्यो।
र, यस बेला अमेरिका स्वयंले समाजवादी रूपमा काम गरिरहेको छ। ठीक यस्तै क्यानाडामा भइरहेको छ अनि रहल विकसित र घोर पूँजीवादी देशहरूमा पनि। जर्मनी, फ्रान्स, इटाली, ब्रिटेन इत्यादि कतैको पनि उदाहरण लिनुहोस्। मोठ 15 वटा विकसित पूँजीवादी देशहरूले 2.78 खरब डलरको आर्थिक प्याकेज तयार गरेको छ, केवल अनि केवल वैश्विक पूँजीवादलाई बचाउनका लागि।
सम्पूर्ण मार्केट इकोनमी कोरोना भाइरससित जुझ्नका लागि समाजवादी इकोनमीको रूपमा बिस्तारै बिस्तारै परिवर्तित भइरहेको छ। त्यो यसकारण, किनभने मार्केट इकोनमी यस महामारीसित लड़्नैसक्दैन, यसैले पूँजीवादी सरदारहरू पनि समाजवादी हुन बाध्य भइरहेका छन्, चीनको मोडललाई अपनाउन बाध्य भइरहेका छन्, राज्यको दखलद्वारा मार्केट इकोनमीलाई खुम्च्याउन अनि राष्ट्रियकरण गर्न बाध्य भइरहेका छन्।
साभार : जनचौक
अनुवादः अशोक प्रशान्त