जनता कर्फ्युमा सुनसान पहाड़, 24 मार्चमा जीटीएले कठोर निर्णय लिने

0
1771
सुनसान दार्जीलिङको मोटर स्ट्यान्ड।

दार्जीलिङ, 22 मार्चः कोरोना भाइरसलाई परास्त गर्न आज दार्जीलिङ पहाड़ पनि पूर्णरूपले ठप्प बनेको छ। यद्यपि, दार्जीलिङ पहाड़ले यस्तो बन्द धेरैपल्ट देखिसकेको छ। यसैले यस्तो बन्दसित दार्जीलिङ पहाड़का जनता अभ्यस्त पनि छन्।

तर, आजको बन्दमा कोरोनाको डर थियो अनि स्वयंलाई यस महामारीको चपेटबाट बचाउने सङ्कल्प पनि थियो। यसैकारण विगतका बन्दहरूको तुलनामा आजको बन्द दार्जीलिङमा गतिलैसित प्रभावित बनेको स्पष्ट छ।

विगतमा दार्जीलिङ पहाड़मा राजनीतिक मुद्दाहरूको कारण बन्द हुने गर्थ्यो अनि ती बन्दावधि दार्जीलिङ शहरको खुल्ला मोटर स्ट्याण्डमा क्रिकेट, फूटबल आदि खेल्ने युवा, बाल-बालिकाहरूको घुइँचो लागेको देखिन्थ्यो। तर आज यस मोटर स्ट्याण्डमा पार्क गरेर राखिएका गाड़ीहरूबाहेक अन्य कोही देखिएको छैन।

दार्जीलिङ शहर सुनसान बनेको छ, चौरस्ता जनशुन्य भएको छ भने प्रत्येक दोकानको दैलोमा ताला झुण्डिएको छ। यसबाट दार्जीलिङका जनताले आज पूर्णरूपले जनता कर्फ्यु पालन गरेको स्पष्ट भएको छ।

सुनसान खरसाङ।

दार्जीलिङ शहरमा न पिकेटर्स, न गाड़ी रोक्ने कुनै कार्यकर्ताहरू, तरै पनि शहरमा गाड़ीको आउजाउ लगभग शून्य बनेको छ थियो भने केही आवश्यक कामले निस्किएका गाड़ीहरू मात्रै सड़कमा कुदिरहेका छन्।

आजको यसै स्थितिबाट दार्जीलिङ पहाड़ मात्रै होइन, समग्र देश नै कोरोना भाइरसको सङ्क्रमणबाट कति डराएको छ भन्ने कुरो छर्लङ्ग भएको छ।

यसैबीच, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले एक बयान जारी गर्दै भने, ‘कोरोना भाइरस यति घमण्डी छ, जबसम्म उसलाई लिन मानिस घरबाट बाहिर निस्किने छैन, तबसम्म उ घरभित्र आउने छैन।’

यसैले यो घमण्डी कोरोनालाई घरभित्र ल्याउने काम कसैले पनि गर्न नहुने उनले जनतालाई आह्वान गरेका छन्।

सुनसान कालेबुङ

यसका साथै विनयका अनुसार विश्व स्वास्थ्य सङ्गठनको हिजो मध्य रातिको आँकड़ाअनुसार, कोरोना भाइरसले विश्वका 188 वटा देशलाई प्रभावित बनाएको बताइएको छ भने कोरोना भाइरसबाट 3 लाख 8 हजार 257 जना संक्रमित बनेका छन्, जसमध्ये 95,827 जना निको पनि भइसकेका छन् भने 13,068 जनाको मृत्यु भएको छ।

भारतमा हिजो मध्य रातीसम्म 332 जना यस भाइरसबाट सङ्क्रमित बनेका थिए भने 23 जना निको पनि भइसकेका थिए। यद्यपि, उनले जनतालाई आतङ्कित नभइदिने अपील गर्दै यस महामारीलाई निश्चितरूपले हराउन सकिने पनि प्रतिबद्धता जाहेर गरेका छन्।

यसैबीच, जीटीए अध्यक्ष अनित थापाले आगामी 24 मार्चको अपरान्ह 2 बजे एक महत्त्वपूर्ण घोषणा गर्ने पनि बताएका छन्।

सुनसान मिरिक।

जीटीएको कठोर निर्णय के हो? त्यो आगामी 24 मार्चको अपरान्ह 2 बजे नै स्पष्ट हुनेछ। जीटीए अध्यक्ष थापाले कठोर निर्णयले मात्रै कोरोनाजस्तो महामारीबाट मानिसहरूको जीवन बँचाउन सकिन्छ पनि भनेका छन्।

कोरोना भाइरसबाट बाँच्नको लागि मानिसहरूले आफूलाई सबैबाट अलग राख्नु नै एउटा मुख्य उपाय हो भन्ने पनि जीटीए अध्यक्षको भनाइ छ। तब के हो जीटीए अध्यक्षको कठोर निर्णय? सबैको लागि कौतुहलको विषय बनेको छ।

यसका साथै उनले अहिले पनि गाड़ी चालकहरुले पर्यटकहरू ल्याइरहेको अनि होटलहरूले पनि पर्यटकहरू राखिरहेको बताएका छन्।

यसैले प्रशासनले यस्ताहरूविरुद्ध कठोर कारवाही गर्ने पनि उनले चेताउनी दिएका छन्। अर्कोतिर, कालेबुङ, खरसाङ र मिरिक क्षेत्र पनि जनता कर्फ्युमा आज सुनसान बनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here