31 मार्चसम्म चियाकमान बन्द राख्ने डीटीएलाई जीटीएको अपील

0
1468

दार्जीलिङ, 23 मार्चः जीटीए बीओएका अध्यक्ष अनित थापाले दार्जीलिङ टी एसोसिएशन (डीटीए )-लाई एक पत्र पठाएर आउँदो 31 मार्चसम्म सम्पूर्ण चियाबकमान बन्द गरिदिने अपील गरेका छन्।

तर, यस बन्दअवधि कुनै पनि चियाश्रमिक उनीहरूले पाउने दैनिक रोजीबाट वञ्चित नहोस् भन्ने पनि डीटीएसमक्ष अपील गरेका छन्।

थापाले भनेका छन्, ‘इन्डस्ट्रियल डिस्प्युट एक्ट 1947-को आधारमा कुनै पनि श्रमिकलाई प्राकृतिक आपदाको समय छुट्टी दिइने प्रावधान छ। यसैले वर्तमान विश्वभरि फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट चियाश्रमिकहरूलाई बचाउन साथै चियाश्रमिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर चिया मालिक सङ्गठनले यस समय चियाकमान पनि बन्द गरिदिनुपर्छ।’

उल्लेखनीय छ, कोरोना भाइरसको चपेटबाट जनतालाई बचाउनका लागि केन्द्र र राज्य सरकारले एकपछि कैयौं निर्णयहरू लिए पनि चियाश्रमिकहरूको काम अझैसम्म जारी नै रहेको छ।

चियाश्रमिकहरूले आज सोमबार पनि बिहानदेखि आफ्नो काम गरिरहेको देखिएको थियो।

जसलाई केन्द्र गरी जीटीए बीओएका अध्यक्ष अनित थापाले चियाकमानहरू पनि बन्द गर्ने माग गर्दै डीटीएसमक्ष पत्राचार गरेका हुन्।

थापाका अनुसार, सबैलाई थाह भएकै विषय हो कोरोना भाइरसको सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरिसकेको छ।

‘भारतमा 400 भन्दा बढ़ी मानिसहरू यसबाट सङ्क्रमित बनिसकेका छन् भने 7 जनाको मृत्यु भइसकेको छ। दार्जीलिङ अनि कालेबुङ जिल्लाका चियाकमान कार्यरत् श्रमिक तथा बासिन्दाहरू कोरोना भाइरसबाट सङ्क्रमित हुने डरले मलाई सताइरहेको छ’ थापाले थप भनेका छन्, ‘यी चियाश्रमिकहरूलाई मास्क अनि सेनिटाइजरको व्यवस्था गरिसकेको भए पनि उनीहरूको पारस्परिक नजिकपनले यो सङ्क्रमण बढ्नसक्ने प्रबल सम्भावना छ।’

दार्जीलिङ, खरसाङ, मिरिक अनि कालेबुङमा यसको सङ्क्रमण रोकथाम गर्न आज 4 बजीदेखि लकडाउनको घोषणा गरिएको छ।

यसैले दार्जीलिङ टी एसोसिएशनले पनि सम्पूर्ण चियाकमानलाई आउँदो 31 मार्चसम्म बन्द गरिदिए उचित हुनेछ।

यसरी नै अर्कोतर्फ कोरोनाको यस सङ्क्रमणलाई ध्यानमा राखे आजदेखि क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले पनि आफ्ना सम्पूर्ण कार्यालय बन्दका साथै राजनीतिक कार्यक्रमहरूलाई पनि स्थगित गरिएको घोषणा गर्‍यो।

क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले आज यस्तो घोषणा गर्दै यसै मार्च महिनाको अन्ततिर सम्पन्न गरिने पार्टीको सम्मेलनलाई पनि स्थगित गरिएको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here