दार्जीलिङ, 24 मार्चः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) का बोर्ड अफ् एड्मिनिस्ट्रेशन (बीओए)-का अध्यक्ष अनित थापाले दार्जीलिङ पहाड़का प्रत्येक चियाकमानले आ-आफ्नो क्षेत्रमा एक-एकवटा क्वारेन्टाइन सेन्टर खोल्नुपर्ने अपील गरेका छन्।
यसका साथै उनले यस्तो विपदको समय विशेष चियाश्रमिकहरूका लागि जीटीए चेयरम्यान रिलिफ फण्ड शुरु गरेको बताउँदै यसमा उनले आफ्नो 6 महिनाको वेतन दिने घोषणा गरे।
आज थापाले आधिकारिक सूचना जारी गर्दै भने, ‘‘हाल दार्जीलिङ पहाड़का विभिन्न चियाकमानबाट कामको खोजीमा बाहिर गएका युवक-युवतीहरू आ-आफ्ना गाउँ-घरमा फर्किन थालेका छन्। यस्तो स्थितिमा कुनै पनि समय ठूलो घटना हुनसक्ने आशङ्का रहन्छ।’’
यसैले दार्जीलिङ अथवा आ-आफ्ना घरबाट बाहिर रहेकाहरू घर फर्किंदा उनीहरूलाई कम्तीमा 14 दिनका लागि अलग्गै राख्नका लागि प्रत्येक चियाकमानले एक-एकवटा क्वारेन्टाइन बनाउनुपर्ने उनको माग छ। ताकि बाहिरबाट आएका कसैले पनि चियाकमानहरूमा कोरोना भाइरस फैलाउन नसकोस्।
यसका साथै जीटीए बीओए अध्यक्षले आफ्नो पक्षबाट यस्तो स्थितिमा चियाकमानहरूमा पनि लकडाउन गर्नुपर्ने माग गरिएको बताउँदै चियाकमानका मालिकहरूले पनि यसका लागि सरकारसित आवश्यक कुरा गरिरहेको जानकारी गरेको बताए।
“चियाबगान लकडाउनअवधिको रोजी चियाश्रमिकहरूले पाउनुपर्छ, यस विषयलाई चियाकमान मालिकहरूले विशेष ध्यान दिनुपर्छ’’, थापाले थपे, “यसैको लागि जीटीए चेयरम्यान रिलिफ फण्ड पनि शुरु गरिएको हो।’’
यसमा उनले दार्जीलिङ पहाड़का ठेकादारहरूलाई पनि आर्थिक सहयोग प्रदान गर्ने अपील गरेका छन्।
यति मात्रै होइन, जीटीए अध्यक्ष थापाले चियाश्रमिकहरूका सहयोगका लागि केन्द्र र राज्य सरकारले पनि उचित सहयोग पुऱ्याइदिनुपर्ने माग गरेका छन्।
उनले भने, “अहिलेको स्थितिलाई सबैले मिलेर पराजित तुल्याउनुपर्छ, यसैले सबैजना चियाश्रमिकहरूलाई सहयोग प्रदान गर्न अघि आउनुपर्छ।’’
यसैबीच, अहिले पनि धेरै मानिसले लकडाउनलाई बेसी प्राथमिकता नदिएको अनि यसलाई खेलाइँची गरिरहेको विषयमाथि पनि लक्ष्य गर्दै यस्ताहरूविरूद्ध पुलिस प्रशासनलाई कठोर कारबाही गर्ने पनि छुट दिएको उनको भनाइ छ।
यसबारे थापाले भने, “लकडाउनलाई वास्ता नगर्नेहरूविरुद्ध पुलिसले कठोर कारबाही गर्नुपर्छ, ताकि यस्ताहरूको कारण दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रमा कोरोनाको सङ्कटले अझै विकराल रूप धारण गर्न नपाओस्।’’
यसरी नै उनले दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकका च्याम्बर अफ् कमर्सले आफ्नो क्षेत्रमा रहेका असहायहरूका लागि उचित सहयोग पुऱ्याउने पनि अपील गरे।