दार्जीलिङ, २६ मार्चः कोरोना भाइरसको महामारीको कारण दार्जीलिङ तराई डुवर्सका चियाश्रमिक र पर्यटन व्यवसायआश्रित मानिसहरू अत्यधिक प्रभावित बनेको बताउँदै सांसद राजु विष्टले उनीहरूका लागि सरकारसँग आर्थिक सहयोगको माग गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी, वित्त मन्त्री निर्मला सितारमण, वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल र पर्यटन मन्त्री प्रह्लाद सिंह पटेललाई क्षेत्रका चियाश्रमिक र पर्यटन व्यवसाय सम्बन्धित मानिसहरूका लागि आर्थिक सहयोग उपलब्ध गराउने उनले माग गरेका हुन्।
सांसद विष्टले दार्जीलिङ, तराई अनि डुवर्स क्षेत्रका २०-२५ लाख मानिस चियाकमानमाथि आश्रित रहेको तथा क्षेत्रका करिब ४० लाख मानिस प्रत्यक्ष र परोक्ष रूपले पर्यटन व्यवसायमा निर्भर रहेको कुरालाई प्रमुखतासँग राखेका छन्। यसैले चियाश्रमिक र पर्यटनव्यवसायमाथि निर्भर मानिसहरूलाई पनि आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ।
विष्टले डाइरेक्ट बेनिफिट ट्रान्सफर (प्रत्यक्ष लाभ हस्तान्तरण) मार्फत् चियाश्रमिकहरूलाई आउँदा तीन महिनासम्म (अथवा परिस्थिति अनुकूल नभएसम्म) आर्थिक सहयोग गर्ने अनुरोध गरेका छन्।
अर्कोतिर उनले पर्यटन उद्योगसम्बन्धमा पर्यटन सम्बन्धित सबै मानिसको राहतका आर्थिक सहयोगका लगि अनुरोध गरेका छन्।
यसैगरी दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका लागि पर्यटन मास्टर प्लानको विकास गर्नुपर्ने माग गरेका छन्। ताकि यसले पर्यटक अपरेटरहरूलाई आर्थिक रूपमा सहयोग गर्नका साथै पर्यटन खपतमा उत्प्रेरित र विश्वव्यापी प्रवर्धनजस्ता महत्त्वपूर्ण पक्षहरूलाई समावेश गर्नसकिन्छ।
आफ्ना यी मागहरूसम्बन्धमा केन्द्र सरकारले राज्य सरकार, चिया र पर्यटन हितधारकहरूसँग घनिष्ठ समन्वय राखेर कार्य गर्ने कुरामा विष्ट आशा साँचेका छन्।
अर्कोतिर, उनले कोरोना भाइरसको जुझ्नका लागि सरकारद्वारा देशका गरीब, किसान, महिला एवं जरूरतमन्द मानिसहरूका लागि घोषित कोरोना स्पेशल प्याकेजका लागि पनि प्रधानमन्त्री र वित्त मन्त्रीलाई धन्यवाद दिएका छन्।