साप्ताहिक राशिन नथाप्नेहरूलाई राशिन थापिदिने अजय एड्वर्डको अपील

0
964

दार्जीलिङ, 27 मार्चः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नेता अजय एड्वर्डले दार्जीलिङ पहाड़का साप्ताहिक राशिनको चामल-आँटाको प्रयोग नगर्ने जनतालाई यसपालिदेखि राशिन उठाइ घरमा सङ्ग्रह गरेर राख्ने अपील गरेका छन्। ताकि त्यो राशिनको चामल र आँटा गाउँ-घर वरिपरिका गरीब-असहायहरूका लागि काम लाग्न सकोस्।

आज उनले एक अडियो जारी गर्दै भनेका छन्, “दार्जीलिङ पहाड़का धेरै मानिसले साप्ताहिक रूपमा वितरण गरिने राशिनको चामल र आँटाको प्रयोग गर्दैनन्। उनीहरूले राशिन दोकानबाट राशिन उठाउँदैनन् पनि, तर यसपालिदेखि त्यो राशिन उठाएर घरमा राखिदिए, त्यसले गरीब-असहायहरूलाई धेरै सहयोग पुग्न सक्नेछ।‘’

एड्वर्डका अनुसार आज देश लकडाउन भएको केवल 3 दिन मात्रै हुँदैछ, तर कोरोना भाइरसको सङ्क्रमणले विश्वका अन्य देशहरूको अवस्थालाई केन्द्र गर्दा यो लकडाउन अझै बढ्नसक्नेछ।

“अहिले नै दार्जीलिङ पहाड़का गरीब अनि असहायहरूलाई खाद्यान्नको आवश्यकता परिहाल्न सक्तैन, तर समय जति बित्दै जानेछ, खाद्यान्नको आवश्यकता उति बढ़्दै जानसक्छ‘’, उनले थपे, “यसैले त्यो विकट स्थितिमा अहिले राखिएको चामल-आँटा गरीब जनतामा वितरण गरेको उचित हुनेछ।‘’

भोकले कसैको पनि ज्यान जान नपाओस् भन्ने उनको सोचाइ हो।

यसैबीच, दार्जीलिङको फुड एन्ड सप्लाई विभागले दार्जीलिङमा आउँदो 1 अप्रेलदेखि प्रत्येक उपभोक्तालाई साप्ताहिक राशिन वितरण प्रणालीअनुसार, चामल 6 किलो अनि आँटा 5 किलोग्राम प्रदान गरिने भएको जानकारी गराएको छ।

विशेष कोरोना सङ्कटलाई ध्यानमा राखेर नै फुड एन्ड सप्लाई विभाग दार्जीलिङले यस्तो निर्णय लिएको विभागीय अधिकारीले बताएका छन्।

यद्यपि, चामल र आँटाबाहेक अन्य सामग्रीहरू निर्धारित दरका अनुसार नै उपभोक्ताहरूलाई प्रदान गरिने पनि विभागको भनाइ छ।

राज्य सरकारले साप्ताहिक राशिन वितरण प्रणालीअनुसार, प्रदान गरिने चामल र आँटा आगामी 6 महिनासम्म निःशुल्करूपमा प्रदान गर्ने घोषणा गरेको छ भने राशिनअन्तर्गत् प्राप्त हुने अन्य सामग्रीहरूजस्तै चिनी, मट्टितेल तथा अन्य निर्धारित दरका अनुसार नै वितरण गरिने भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here