खकुलो बन्दै लकडाउन, मानिसहरूलाई घरभित्रै बसिदिने दार्जीलिङ पुलिसको अपील

0
1453
सदर थानाका आईसी टीएन नाथ।

दार्जीलिङ, २८ मार्चः दार्जीलिङ पहाड़मा लकडाउन खकुलो बन्दै गएपछि पुलिस प्रशासनले पुनः मानिसहरूलाई घरभित्रै बसिदिने अपील गरेको छ।

लकडाउनको चौथो दिन आज दार्जीलिङ बजारमा मानिसहरू बाक्लो देखिएपछि सदर थानाका आईसी टीएन नाथले यस्तो अपील गरेका हुन्।

“मानिसहरूलाई हाम्रो अपील छ, मानिसहरू घरभित्रै बसिदिउन्। उनीहरूले आफ्नो ज्यान आफै बचाउन्”, आईसी नाथले थपे, “पुलिसले गर्ने काम त गरिरहेको छ। सम्झाउने, अपील गर्ने काम काम गरिरहेकै छ।”

उनका अनुसार अत्यावश्यक सामान मानिसहरूले लिन आउन पाउनेछन्, तर त्यसको सीमितता छ। बिनासित्थै बजार-सड़कमा घुम्न पाइँदैन।

अर्कोतिर, उनले मानिसहरूले आफै सचेत बन्नुपर्ने दोहोऱ्याए। मानिसहरू आफै सचेत बनेर घरभित्रै नबसेसम्म सीमित सङ्ख्याका पुलिसले मात्र मानिसहरूको घुइँचोलाई रोक्न नसक्ने सदर थानाका आईसी टीएन नाथको भनाइ छ।

उल्लेखनीय छ, आज दार्जीलिङ बजारमा पछिल्ला तीन दिनको तुलनामा धेरै मानिसको जमघट देखिएको थियो, जसको कारण सामाजिक दूरी र घरभित्रै बस्ने आह्वानको उल्लङ्घन भएको छ।

पुलिसका अनुसार केही केही मानिस अत्यावश्यक कार्यका लागि बजार आउने गरे तापनि केही मानिसले बिनासित्थै बजार घुम्नकै लागि  निस्किने गरेका छन्।

त्यस्ता मानिसहरूलाई पुलिस प्रशासनले लगातार घरभित्रै बसिदिने अपील गर्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here