दार्जीलिङ, २८ मार्चः उत्तर बङ्गाल मेडिकल कलेजमा स्थापित कोरोना भाइरसको परीक्षण प्रयोगशालाको सञ्चालनमा भएको ढिल्याइलाई लिएर सांसद राजु विष्टले प्रश्न गरेका छन्।
चार दिनअघि नै स्थापित यस परीक्षणको सञ्चालनमा भइरहेको ढिल्याइलाई लिएर विष्टले प्रश्न मात्र गरेका छैनन् तर तृणमूल नेता एवं राज्यका पर्यटन मन्त्री गौतम देवमाथि कटाक्ष गरेका छन्।
यद्यपि उनले गौतम देवको भने सोझै नाम भने लिएका छैनन्।
विशेषगरी देवले आफूविरुद्ध राजनीतिकरण गरेको आरोप लगाएर भिडियो नै जारी गरेको भन्दै सांसद राजु विष्टले त्यस आरोपलाई लज्जास्पद बताएका छन्।
‘हाम्रो देशले कोरोना भाइरसविरुद्ध सङ्गठित बनेर लड़ाइं लड़िरहेको समय पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसका मन्त्रीले मैले राजनीतिकरण गरेको आरोप लगाएर भिडियो बयान दिनु लज्जास्पद कुरा हो’, विष्टले भनेका छन्।
शनिवार एक प्रेस विज्ञप्ति जारी उनले विभिन्न विषयमा ती मन्त्रीलाई प्रश्न तेर्साउँदै कटाक्ष गरेका छन्।
‘म तपाईंजस्तो तुच्छ राजनीतिज्ञ होइन। म यहाँ निजी फाइदाका लागि आएको होइन। मलाई दार्जीलिङ संसदीय क्षेत्रका जनताले बङ्गालमै सर्वाधिक मतले जिताएर सांसद बनाएका हुन्’, ती मन्त्रीलाई सम्बोधन गर्दै विष्टले थप भनेका छन्, ‘यसले मलाई जनताको कल्याणका लागि प्रत्येक दिन खटेर सेवा गर्ने कुरामा प्रोत्साहित गरेको छ, जो हाम्रा जनतालाई थाह छ।’
अर्कोतिर, उनले उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशाला चार दिन बितिसक्दा पनि सञ्चालनमा नआएको विषयमा पनि प्रश्न गरेका छन्।
यसका साथै तृणमूल कङ्ग्रेसको व्यर्थको राजनीतिले भाइरस परीक्षण प्रयोगशालाको सञ्चालनमा भएको ढिल्याइमा अन्य राजनीतिक दलहरूले पनि खुलेर विरोध गरेको सर्वविदितै रहेको यी सांसदको भनाइ छ।
‘उत्तर बङ्गालका जनतालाई समयमा जाँच सुविधाबाट कसको राजनीतिले बाधा दियो?’, विष्टले भनेका छन्, ‘यस टेस्टिङ ल्याबको वित्त पोषण (फन्डिङ) केन्द्र सरकारले गरेको हो कि राज्य सरकारले, सम्बन्धित मन्त्रीले यसको जवाफ दिउन्।’
यसैगरी उनले केन्द्रिय स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीले गरेका राम्रा कार्यहरूको प्रशंसा गर्नु अपराध हो भन्ने प्रश्न गरेका छन्।
‘के भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को स्वीकृतिलाई लिएर फेसबुकमा धन्यवाद ज्ञापन दिनु राजनीतिको परिधिभित्र पर्छ?’, उनले थप प्रश्न गरेका छन्, ‘हिजोमात्र मुख्यमन्त्री ममता ब्यानर्जीलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको आरम्भका लागि वचनबद्धतामाथि मैले धन्यवादसम्म टक्राएको थिएँ,- के उनले मलाई धन्यवाद राजनीतिमा मुछिएको आरोप लगाउने?’
यसैबीच यस्तो विषम परिस्थितिमा पनि सांसद आफ्नो संसदीय क्षेत्रमा छैनन् भन्ने बयानप्रति पनि सांसद राजु विष्टले प्रतिक्रिया व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘सम्भवतः उनले म सांसद हो। र मेरो मौलिक कार्य भनेको आफ्ना जनताको आवाजलाई राष्ट्रिय मञ्च पुऱ्याउने हो। मेरा मानिसहरूका मुद्दा संसदमा उठाउनु हो भनेर बिर्सिएछन्। म आजसम्म कुनै दिन पनि संसदको सत्रमा अनुपस्थित रहेको छुइनँ। जुन दिन बजेट सत्र सकियो, त्यसको लगत्तै भोलिपल्ट ‘कम्प्लिट लकडाउन’ घोषणा भयो, जस कारणले गर्दा म मेरो संसदीय क्षेत्रमा पुग्न सकिनँ।’
उनले थप भनेका छन्, ‘सम्बन्धित मन्त्रीले आफ्नो क्षेत्रमा हुँदा त्यहाँ लागि के गरिरहेका छन्? मलाई थाह लागेअनुसार, गत केही दिनमा चामल, आँटा, चिनी र अन्य आवश्यक सामग्रीको मूल्य प्रतिक्विन्टल करिब ४००-५०० को दरले वृद्धि भएको छ। के यो कुरा उनलाई थाह पनि छ के? हाम्रो क्षेत्रमा अहिले मास्क, सेनिटाइजरलगायत अस्पतालको बेड सङ्ख्यासम्ममा ठूलो अपुग देखापरेको छ, सम्बन्धित मन्त्रीलाई यसबारे ज्ञात छ के? तल्लोतहमा यो मूलभूत समस्यासँग जुझ्न उनले के गरिरहेका छ? क्षेत्रको अस्पतालहरूमा डाक्टर, नर्स, सहायक, औषधि र क्वारन्टाइन सुविधाको कमीलाई पूरा गर्न उनले के कदम चाल्दैछन्?