कालेबुङ, २९ मार्चः वैश्विक महामारी बनेको कोरोना भाइरस हाम्रै घर आँगनमा आइपुगेको छ। कालेबुङ बजारनिवासी ४५ वर्षीय महिला कोरोना भाइरसबाट सङ्क्रमित बनेको पुष्टि भएको छ।
उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालले पनि महिला कोरोना सङ्क्रमित रहेको पुष्टि गरेको छ।
प्राप्त जानकारी अनुसार केही दिनअघि छोरीको उपचारसम्बन्धी चेन्नइ गएकी महिला १९ मार्चका दिन कालेबुङ फर्केकी थिइन्।
सूत्रका अनुसार सिलगढ़ीबाट उनी निजी वाहनमै कालेबुङ आएकी थिइन्।
त्यसपछि कोरोना भाइरसको लक्षण देखिएपछि २६ मार्चका दिन उत्तर बङ्गाल मेडिकल एवं अस्पताल भर्ना भएकी थिइन्।
अहिले उनलाई आइसोलेशनमा राखेर उपचार गरिरहेको छ। जानकारीका अनुसार उनका परिवारका सदस्यहरू अहिले सेल्फ क्वारेन्टाइनमा छन्।
यसैगरी नयाँबस्ती जलपाइगढ़ीनिवासी एक महिला पनि कोरोना भाइरसबाट सङ्क्रमित रहेको आशङ्का गरिएको छ।
निओटियो गेटवेलमा उपचाराधीन रहेकी ती महिलाको टेस्ट रिपोर्ट आइनपुगेको बताइएको छ।
अर्कोतिर, हाम्रै घर आँगनमा कोरोना भाइरस आइपुगेपछि सतर्क र सुरक्षित बस्नुपर्ने अत्यावश्यक भएको छ।