कोलकाता, ३० मार्चः पश्चिम बङ्गालमा ममता ब्यानर्जीको सरकारले कोरोना भाइरसको मामिला लुकाइरहेको आरोप राज्यमन्त्री देवश्री रायचौधरीले लगाएकी छन्।
यसका साथै राज्य सरकारले अस्पतालहरूमा कोरोना भाइरसको जाँच नगरी आईसीयूमा भर्ती गरिरहेको उनको आरोप छ।
“मुख्यमन्त्रीले प्रत्येक जिल्लामा अस्पताल बनाउने घोषणा गरिरहेकी छन्। तर उनले केवल घोषणा मात्र गरिरहेकी छन्। यसबारे कुनै काम भएको छैन”, उनले थपिन्, “अस्पताल पनि छैन। किट पनि छैन। मुख्यमन्त्री स्वयं स्वास्थ्य मन्त्री हुन्। उनले यसबारे ध्यान दिउन्।”
राज्यमन्त्री देवश्रीले थप भनिन्, “पश्चिम बङ्गालमा अन्य राज्यहरूबाट मानिसहरू हिँड़ेर आइरहेका छन्। तर उनीहरूको कुनै जाँच गरिएको छैन। केवल १४ दिनको क्वारेन्टाइनले केही हुनेछैन। सङ्क्रमित मानिसहरू अस्पतालमा भर्ना भइरहेका छन्। यदि उनीहरूको जाँच नभए सङ्क्रमण अझ फैलिनेछ।”