प्रतीकात्मक फोटो। |
कोलकाता, २२ अक्टोबर : पुरुलियापछि अब वीरभूम जिल्लामा भाजपा कार्यकर्ताको शव नदी किनारमा रहेको रूखमा झुण्डिरहेको अवस्था भेटेपछि सनसनी फैलिएको छ। पुलिसले शवलाई आफेनो कब्जामा लिएर पोस्टमर्टमका लागि पठाएको छ। हत्या गरी शवलाई रूखमा झुण्डाइदिएको मृतकका परिजनहरू आरोप लगाएका छन्। भाजपाले यो मृत्युका लागि तृणमूल कङ्ग्रेसलाई दोष्याएको छ। पुलिसले घटनाको जाँच शुरु गरेको छ। अर्कोतिर भाजपा कार्यकर्ताहरूको सन्दिग्ध मृत्युको घटनाले पुनः एकपटक राजनीति तातिएको छ।
सूत्रका अनुसार लाभपुरको द्वारका गाउँ निवासी तापस बाग्दी (40) आइतवार बेलुकी चिया पिउन भनी घरबाट निस्केका थिए, तर राति अबेरसम्म उनी घर नफर्केपछि परिजनले तापसलाई खोज्न शुरु गरे। सोमवार बिहान तापसको शव मयुराक्षी नदीको किनारमा रहेको रूखमा पासो लगाएर झुण्डिरहेको अवस्थामा भेट्टाइयो। मृतक भाजपाका सक्रिय कार्यकर्ता रहेको बताइएको छ।
बताइँदैछ, पछिल्लो 19 अक्टोबरको दिन तापसको परिवारसँग स्थानीय तृणमूल नेता कार्तिक पालसँग विवाद भएको थियो। यो विवाद थानासम्म पुगेको थियो। यसपछि तापस मानसिक तनाउमा थिए। यद्यपि भाजपा कार्यकर्ताको हत्या भएको हो या उनले आत्महत्या गरेका हुन्, यसको रहस्य गहिरिएको छ। यसैबीच मृतकका परिजनले तापसको हत्या भएको दाबी गर्दै हत्यापछि रूखमा झुण्डाइएको आरोप लगाएका छन्। यो समाचार लेखुञ्जेलसम्म घटनालाई लिएर प्राथमिकी दर्ता गरिएको थिएन।
यो मामिलामा स्थानीय भाजपा नेतृत्वले तृणमूल कङ्ग्रेसलाई मृत्युको जिम्मेवार ठहऱ्याएको छ। प्राथमिक जाँचमा पुलिसले तापसको हत्या नभएर आत्महत्या गरेको आशङ्का जताएको छ। यद्यपि मृत्युको कारण जान्न पुलिसले जाँच शुरु गरेको छ। यता, प्रदेश भाजपा अध्यक्ष दिलीप घोषले भाजपा कार्यकर्ता तापस बाग्दीको मृत्युलाई राजनीतिक हत्या बताएका छन्। उनले पुरुलियाकाण्डजस्तै तृणमूल कङ्ग्रेसले वीरभूममा पनि भाजपा समर्थकहरूलाई आफ्नो बाटोबाट हटाउनका लागि षड़यन्त्र गरिरहेको आरोप लगाएका छन्। यद्यपि भाजपाको यस्तो आरोपलाई वीरभूम जिल्ला तृणमूल अध्यक्ष अनुब्रत मण्डलले सोझै खारेज गरेका छन्।