दार्जीलिङ, 31 मार्चः दार्जीलिङको धोबी तलाउ निवासी केल्साङ युडेन भोटिया भर्खरै दुबईबाट आएर आफ्नो घरमा लुकेर बसेको अफवाहले भोटिया परिवार विचलित बनिरहेको छ।
यो खबर भाइरल भएपछि आस्था समाजका पदाधिकारीहरू पनि केल्साङको घरमा गएर जाँच गर्ने कार्य गरेका थिए।
जुन समय समाजका पदाधिकारीहरूलाई केल्साङको परिवारले केल्साङसित भिडियो कल गरी सम्पर्क गराएको थियो भने भिडियो कलमार्फत् केल्साङ दुबईमा नै रहेको प्रमाणित भएको छ।
यस विषय लिएर केल्साङको परिवारले यस्तो अफवाह फैलाउनेहरूविरुद्ध कठोर कानुनी कारबाही गर्ने चेताउनी दिएको छ।
हाल यसप्रकारका अफवाह फैलाउनेहरूविरुद्ध कानुनी कारबाही भइरहे तापनि यसमाथि धेरैले वास्ता नै गरेका छैनन्।
यसैले यस्ता अफवाह र भाइरल भएका म्यासेजहरूलाई जाँचबुझ गरेर मात्रै फरवर्ड आदि गरेको उचित हुनेछ।
यस विषय लिएर आस्था समाजले दार्जीलिङ सदर थानालाई पनि एक पत्र पठाएर केल्साङ भोटिया परिवारको पक्षबाट एक प्राथमिकी दर्ता गरिदिने अपील गरेको छ।
पत्रमा भनिएको छ, ‘आस्था समाजका सदस्य छिरिङ ल्हमु भोटिया-स्व. फिञ्जो छिरिङ भोटियाकी छोरी केल्साङ युडेन भोटिया हाल दुबईमा कार्यरत छिन्, तर केल्साङ आफ्नो घरमा आएर बसिरहेकी छिन् भन्ने अफवाह फैलिएपछि भोटिया परिवार विचलित बनिरहेको छ।‘
पत्रमा थप भनिएको छ, ‘यसैले सत्यता बुझ्नका लागि समाजका पदादिकारीहरूले भोटियाको घरको जाँच गरे। तर केल्साङ अहिले वा आजको दिनमा पनि दुबईमा नै रहेको स्पष्ट भएको छ।’
यसप्रकारको झूटो खबरले भोटिया परिवारलाई हुनसम्मको मर्का परेको समाजले बताएको छ। यसैबीच, केल्साङको परिवारले पनि यस्तो अफवाह फैलाउनेहरूविरुद्ध कानुनी कारबाही गर्ने चेताउनी दिएको छ।