अरुणाचल प्रदेशविरुद्ध जीतको सङ्घारमा सिक्किम

0
1278
सिक्किम रणजी टीम (फाइल फोटो)।

गान्तोक, 8 जनवरी : पछिल्लो म्याचमा बलियो मेघालयविरुद्ध सङ्घर्ष गरेर ड्र खेलेको सिक्किम अरुणाचल प्रदेशविरुद्ध जीतको सङ्घारमा पुगेको छ। पहिलो पारीमा 93 रनले पछाड़िएको अरुणाचल प्रदेशले दोस्रो पारीमा केवल 104 सङ्ग्रह गरी 8 विकेट गुमाएपछि सिक्किम चौथो जीतको नजिकमा पुगेको हो।

अङ्कतालिकामा पुछारदेखि दोस्रो स्थानमा रहेको अरुणाचल प्रदेशले दोस्रो दिनको खेल सकिँदासम्म केवल 11 रनको अग्रता बनाएको छ भने अब यसको हातमा केवल दुई विकेट बाँकी छ। आजको खेल सकिँदा  तेची नेरी 20 र डीण्ड्याल उपाध्यय 17 रन बनाएर खेलिरहेका छन्। यी दुईले नवौं विकेटका लागि 33 रन जोड़िसकेका छन्। एक समय अरुणाचल प्रदेशले 71 रनमै 8 विकेट गुमाएको थियो।

सिक्किमको बलिङ आक्रमणअघि असहाय देखिएका अरुणाचल प्रदेशका खेलाड़ीले दोस्रो पारीमा पनि निराशाजनक ब्याटिङ गरे। क्षितिज शर्मा (31) -लाई छोड़ेर अन्य कुनै ब्याट्सम्यानले धैर्यपूर्ण ब्याटिङ गर्नसकेनन्। अमित कुमार (4), नीलम ओबी (2), कप्तान काम्सा योङ्फो (6), तेची डोरिया (5), सोङ ताचो (5), इन्दिया टोकु (5) र प्रतीक कटारिया (4) सस्तोमा नै आउट भए। सिक्किमका लागि स्टार बलर ईश्वर चौधरीले 5, विपुल शर्माले 2 र मिलिन्द कुमारले एक विकेट लिए। अरुणाचल प्रदेशको पहिलो पारीमा पनि चौधरीले तीन र मिनिन्दले पाँच विकेट लिएका थिए।

यसभन्दा अघि सिक्किमले सबै विकेटमा 262 रन सङ्ग्रह गरी अरुणाचल प्रदेशविरुद्ध पहिलोपारीको आधारमा 93 रनको महत्त्वपूर्ण अग्रता प्राप्त गरेको थियो।  सिक्किमका लागि ली योङ लेप्चाले सर्वाधिक 58 रन बनाएका थिए भने स्टार ब्याट्सम्यान मिलिन्द कुमारले 51 रनको पारी खेलेका थिए। यद्यपि यी दुई ब्याट्सम्यानलाई छोड़ेर अन्य ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन्। विवेक दियाली (37), विपुल शर्मा (31) र जहान उड्डिन (27) -ले यो टीमको अग्रतालाई बढ़ाउने कोशिश गरे। अरुणाचल प्रदेशका लागि डीण्ड्याल उपाध्ययले चार र लीचा तेहीले दुई विकेट लिए।

उल्लेखनीय छ, रणजी प्लेट ग्रुपमा यसपालि खेल्ने मौका पाएको सिक्किमको यो आठौं म्याच हो। पछिल्लो सात खेलमा चार तीन खेलमा जीत दर्ता गरेको छ भने तीनवटै खेलमा पराजित बेहोरेको छ। एक खेल ड्र खेलेको छ। सात खेलमा सिक्किमको 20 अङ्क भएको छ। अहिले सिक्किम अङ्क तालिकामा पाँचौ स्थानमा छ। अङ्कतालिकामा उत्तराखण्ड पहिलो र बिहार दोस्रो स्थानमा छ। उत्तराखण्डले अहिलेसम्म खेलेको 7 खेलमा एकै खेल पनि हारेको छैन। पाँच खेलमा जीत र दुई खेल  बराबरी खेलेको यसको 37 अङ्क छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here