दार्जीलिङ, 1 अप्रेलः दार्जीलिङ जिल्ला प्रशासनले दार्जीलिङ जिल्लाअन्तर्गत् पहाड़ी क्षेत्रमा कोरोना उपचार केन्द्रको रूपमा सञ्चालन गर्नका लागि 9 वटा स्थान चिह्नित गरेको छ।
चयनित केन्द्रहरूमा बतासेस्थित टीबी अस्पताल, दार्जीलिङको युथ होस्टल, पत्ताबुङको टुरिस्ट गेस्ट हाउस, बिजनबारीको पुरानो डिग्री कलेज, जोरपोखरी टुरिस्ट लज, मिरिक महाविद्यालय, खरसाङको नयाँ बजार सार्वजनिक भवन, सुकना सार्वजनिक भवन र तकदाको आईटीआई भवन सामेल छन्।
जसमध्ये टीबी अस्पताल र अन्य केही स्थानको हिजो जिल्ला प्रशासन साथै स्वास्थ्य विभागका अधिकारीहरूले भ्रमण पनि गरिसकेका छन्।
कोरोना भाइरसको सङ्क्रमण देशमा लगातार बढ़िरहेको विषयलाई ध्यानमा राखेर नै दार्जीलिङ जिल्ला प्रशासन पनि सक्रिय बन्न थालेको छ।
यसैले प्रशासनले दार्जीलिङ जिल्लामा क्वारेन्टाइन केन्द्र, आइसोलेशन केन्द्र बनाउनका लागि पनि ठोस पहल गर्न शुरु गरेको छ।
अहिलेसम्म दार्जीलिङ जिल्लामा एकैजना पनि कोरोना सङ्क्रमित नभेटिए पनि कालेबुङ जिल्लानिवासी एक महिलाको मृत्युको घटनाले सम्पूर्ण पहाड़वासीलाई नै चिन्तामा पारेको छ।
यसका साथै दार्जीलिङ जिल्ला प्रशासनको पनि चिन्ता दोब्बर भएको छ। जसको एउटा मूल कारण गत 19 मार्चको दिन चेन्नइबाट जुन हवाई जहाजमा कालेबुङकी महिलाले यात्रा गरेकी थिइन्, त्यसै हवाई जहाजमा दार्जीलिङका पनि धेरैजनाले यात्रा गरेको सार्वजनिक भएको छ।
यसैकारण दार्जीलिङमा कोरोना सङ्क्रमित हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पनि जिल्ला प्रशासनले अहिलेदेखि नै तयारी शुरु गरिसकेको छ।
यसैबीच, दार्जीलिङ जिल्लाको स्वास्थ्य विभागले एक कोविड-19 बुलेटिन जारी गरेर हालसम्म अन्तर्राष्ट्रिय सीमामा 62,484 जना मानिसहरूको स्क्रिनिङ गरिएको बताउँदै हिजो 31 मार्चको दिन मात्रै 85 जनाको स्क्रिनिङ गरिएको जानकारी गराएको छ।
यसरी नै राज्य सीमामा 11,386 जनाको स्क्रिनिङ गरिएको अनि हिजो यो सङ्ख्या 535 जना रहेको पनि बताएको छ।
यसरी नै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा मोठ 12 जनाको नमूना नै नेगिटिभ आएको स्वास्थ्य विभागले जानकारी गराएको छ।
यसका साथै विभागले विभिन्न देश र राज्यबाट 30 मार्चसम्म 3,443 आएको बताउँदै उनीहरू सबैलाई आ-आफ्नै घरमा क्वारेन्टाइन गरेर राखिएको जनाएको छ।